टोकियो – जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन् ।
ओकिनावामा एक अमेरिकी नौसेना संलग्न रहेको हत्याको आरोपले व्यापक आक्रोश पैदा गरेपछि यस्तो निर्णय आएको हो ।
अमेरिकाको लगभग ५४ हजार सैन्य कर्मचारी जापानमा तैनाथ छन्, जसमध्ये अधिकांश ओकिनावामा छन् । यी सैनिकहरूबाट हुने अपराधहरू २ नजिकका सुरक्षा साझेदारबिचको सम्बन्धमा सधैं काँडा बनेका छन् ।
‘हामी अझै जापान–अमेरिका वार्ता जारी राखिरहेका छौँ, तर हामी जापानी सरकारको संलग्नतामार्फत ओकिनावामा रहेका अमेरिकी सेनालाई शिक्षा दिने व्यवस्था सुधार गर्न सहमत भएका छौँ,’ जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगीले पत्रकारहरूसँग भने ।
‘व्यावहारिक रूपमा, नयाँ आइपुग्ने अमेरिकी सैन्य कर्मचारीलाई दिइने ओकिनावा अभिमुखीकरण निर्देशिकामा ओकिनावा प्रिफेक्चरका रायहरू समेटिनेछन्,’ उनले भने ।
विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले ओकिनावामा रहेका अमेरिकी सैनिकहरूलाई समुदायसँगको सम्बन्ध र जापानको कानुनी प्रणालीबारे जानकारीमुलक कार्यक्रममा नियमबारे आफ्ना सैनिकलाई अवगत गराउने छन् ।
२ देशले जापान–अमेरिका संयुक्त सडक गस्तीको आवृत्ति बढाउने र क्षेत्र विस्तार गर्ने सहमति पनि जनाएका छन् । जापानी अभियोजनकर्ताहरूले गत महिना एक अमेरिकी सैनिकलाई ३ अक्टोबरमा ओकिनावाको १ होटलमा ३९ वर्षीय जापानी महिलाको हत्या गरेको आरोपमा मुद्दा दायर गरेका थिए ।
घटनाले जापानमा व्यापक आक्रोश पैदा गरेको छ र दक्षिणी टापुमा अमेरिकी सैन्य उपस्थितिबारेको विवाद फेरि चर्काएको छ। अमेरिकी सेनालाई गत महिनाको सुरुमा २ दिनसम्म रक्सी पिउन प्रतिबन्ध लगाइएको थियो र ३० दिनको कर्फ्यू लगाइएको थियो ।
त्यसैगरी नशामा गाडी चलाएको आरोपमा १ अमेरिकी सेनालाई पक्राउ गरिएको रक्षा मन्त्री शिन्जिरो कोइजुमीले यसै हप्ता जानकारी गराएका थिए ।
दोषी मानिएका केही अमेरिकी सैनिकहरूलाई लक्षित कर्फ्यू ७ डिसेम्बरसम्म लम्ब्याउने अमेरिकी अधिकारीहरूले शुक्रबार जानकारी गराएका छन् ।


प्रतिक्रिया