काठमाण्डु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा भएको अतिक्रमण हटाउने क्रममा दुई घरधुरी मात्र वास्तविक सुकुमबासी रहेको पाइएको छ ।
डिभिजन वन कार्यालय, बाराको नेतृत्वमा स्थानीय प्रहरी प्रशासन, पर्सा राष्ट्रिय निकुञ्ज, वनरक्षक, कर्मचारी र सडक डिभिजन कार्यालय, हेटौँडाको संयुक्त टोलीले सो अतिक्रमण हटाएको हो । पटकपटकको सूचनालाई बेवास्ता गर्दै आएका स्थानीयलाई बल प्रयोग गरी खाली गराइएको हो । शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको अतिक्रमण हटाउने कार्य साँझ ६ बजेसम्म चलेको थियो ।
वन अधिकृत ललन राउतका अनुसार अतिक्रमण हटाइएका ३५ घरधुरीमध्ये प्रारम्भिक जानकारीमा दुई परिवार बाहेक अहिलेसम्म वास्तविक सुकुमबासी कोही नभेटिएको बताए ।
महेन्द्र राजमार्गको दायाँबायाँ २५र २५ मिटर सडक क्षेत्रबाहेक वनदेवी सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र अतिक्रमण गरी बसोबास गर्ने ३५ घरधुरीलाई हटाइएको वन कार्यालयले जनाएको छ। अतिक्रमण हटाउनुअघि नै करिब दुई साताअगाडि अन्यत्र घरबास नहुनेहरूलाई स्थानीय तहमा जानकारी गराउन सूचित गरेको थियो ।
अतिक्रमित स्थानमा २०३५ सालदेखि नै होटल व्यवसाय सञ्चालन हुँदै आएका थिए । यहाँका अधिकांश होटल सञ्चालकहरू हेटौँडाका स्थायी बासिन्दा पाइएको छ । अधिकृत झाले वास्तविक सुकुमबासीहरू प्रमाणसहित आए सहयोग गरिने जानकारी दिए ।
अतिक्रमण हटाउने क्रममा स्थानीयले भने सामान हटाउन १५ दिनको समय दिन माग गरेका थिए । तर, सडक डिभिजन कार्यालय, हेटौँडा र वन कार्यालयले वैशाख पहिलो साता नै तीनदिने सूचना जारी गर्दै महेन्द्र राजमार्गको पथलैया अम्लेखगञ्ज–चुरियामाई मन्दिरसम्म अनधिकृत रूपमा वन अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन निर्देशन दिएका थिए ।




प्रतिक्रिया