काठमाण्डु – प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास भोलिदेखि सुरु हुँदैछ ।
आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ ।
वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताए ।
चान्द्र महिनामा २ वटा संक्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिनुभएको छ । जसमा भनिएको छ,
असङ्क्रान्तिमासोऽधिमास: स्फुट: स्याद् ।
द्विसङ्क्रान्तिमास: क्षयाख्य: कदाचित् ।।
अर्थात् संक्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । २ वटा संक्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले, कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री पोखरेलले बताए ।
क्षयमास कात्तिक, मंसिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मंसिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी ८ महिनामा अधिकमास पर्न सक्छ ।
क्षयमास हुने वर्ष २ अधिकमास नियमित समेत पर्छन् । यी अधिकमास क्षयभन्दा ३ महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ ।
सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
मलमासमा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्छन् । नित्य बसिरहेको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुआत गर्नु नहुने नियम रहेको पनि उनले बताए ।
मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश जस्ता कर्म गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नु हुँदैन ।
यसैबिच, रत्नपार्कबाट करिब ८ किलोमिटर दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ ।
मलमासको अवधिभर मच्छेनारायणमा टाढा टाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मलमास अवधिभर कीर्तिपुरबाट ४ किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुने चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
यो महिनामा भगवान् नारायणको पूजाआराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको १ फिट अग्लो ४ हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।
भगवान् विष्णुले १० अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरूपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । यसअघि २०८० साल साउन महिनामा अधिकमास परेको थियो । अधिकमास परेको महिनामा वैदिक सनातन धर्मावलम्बीले घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुन्ने गर्छन् । (रासस)




प्रतिक्रिया