काठमाण्डु – एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आइतबार देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ।
मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ।
जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो। नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ।
यसबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्ष अगाडि दासढुंगामा भएको रहस्यमय घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताएका छन्।
स्मृति दिवसमा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ओलीले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भदै स्मरण गरे ।
मदन भण्डारी कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक भाष्य दिने जनताको बहुदलीय जनवाद निर्माणका अगुवा भएको बताउँदै ओलीले त्यस दौरानमा उनको विश्वास र अभिन्न निकटतामा रहेर काम गरेको सम्झना भइरहेको जिकिर गरे।
यस्तै, उनले पछिल्लो दशकमा त्यस अभियानले मानवीय र भौतिक पूर्वाधारको विकासमा परिवर्तन पनि ल्याउन थालेको बताए। उनले मदन भण्डारी(जीवराज आश्रित, र यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज आफूमाझ शारीरिक रूपमा नरहे पनि विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भझैँ रहेको जिकिर गरे।
जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभइ यथार्थको धरातलमा टेकेर उभिएको विचार भएको ओलीको भनाइ छ।




प्रतिक्रिया