म्यानपावर एजेन्टमाथि ‘स्टिंग अपरेसन’, फ्री भिसा फ्री टिकटमा ठगी गर्ने एजेन्ट पक्राउ

म्यानपावर एजेन्टमाथि ‘स्टिंग अपरेसन’, फ्री भिसा फ्री टिकटमा ठगी गर्ने एजेन्ट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुरक्षा गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो।

सरकारको फ्रि भिसा फ्रि टिकटको नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रुपैयाँ मात्र तिर्नुपर्नेमा यादवले नगद ७० हजार रुपैयाँ तिरिसकेका थिए।

तर, कोटेश्वरको ग्रान्ड स्विट जब नाम गरेको म्यानपावरले तीन लाख रुपैयाँभन्दा एक रुपैयाँ पनि कम लिन्नँ भनेपछि उनी मलेसिया उड्न पाएनन्। उता रोजगारदाता कम्पनीले भिसा र टिकट पठाइसकेको थियो। तर, तीन लाख रुपैयाँ नतिर्दा विदेश गएर कमाउँछु भन्ने अजयको सपना साकार हुन सकेन।

म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ तिरे जेठ ३ गते उडाइदिने बतायो। त्यसपछि उनले पैसाको जोहो गरे। नाइट गाडी चढेर शनिबार बिहान काठमाण्डु ओर्लिए।

कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरे। पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प अगाडि पैसा लिए भेट्न बोलाए।

त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए। अजय रामजीकै निर्वाचन क्षेत्रका मतदाता हुन्।

अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैँ खटिए। केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगे। त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो। म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरुमा अजयसँग पैसा मागे। अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भयो। त्यतिबेलै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो।

फ्रि भिसा फ्रि टिकट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइयो।

ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकट र अन्य महत्वपूर्ण कागजात रहेको पाइयो। उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको छ।

वैदेशिक रोजगारीको नाममा सोझा कामदारहरूलाई ठगी गर्ने र फ्रि भिसा फ्रि टिकटको नियम उल्लंघन गर्दै लाखौं रकम असुल्ने म्यानपावरका एजेन्ट पक्राउको घटनाले कसरी सोझा नागरिक ठगिइरहेका छन् भन्ने प्रमाणित गरेको छ। श्रम मन्त्री यादवका स्वकीय सचिव सरोज भन्छन्, ‘तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौं।’

यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए। उनले सो म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए। मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको हो।

म्यानपावरले सुरुमा १० हजार छुट गरिदिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाएको थियो। पीडित यादवले टिकट र अन्य प्रक्रियाका लागि भन्दै यसअघि नै ७० हजार रुपैयाँ नगद बुझाए पनि बाँकी पैसा नबुझाएसम्म उनको राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले बन्धक बनाएको थियो।

पक्राउ परेका एजेन्टले सुरुमा आफूले पैसा लिएर मात्र कागजात दिन लागेको दाबी गरे तापनि प्रहरीले फ्रि भिसा फ्रि टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेको ? भन्दै प्रश्न गरेपछि उनी चुप बनेका थिए। प्रहरीको सक्रियतामा यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी हस्तान्तरण गरिएपछि यादव आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ।

यादवले खुसी व्यक्त गर्दै भने, ‘सुरुमा म्यानपावरले पैसा लाग्दैन, अन्तर्वार्ता पास भएपछि सबै मिलाउँला भन्यो। तर जब भिसा आयो, तब ३ लाख नदिए जान पाउँदैनौ भन्दै धम्क्याउन थाल्यो। गरिब मान्छेले ऋण काढेर पैसा ल्याउनुपर्ने, त्यसमाथि यस्तो लुटधन्दा गर्नेलाई कडा कारबाही हुनुपर्छ।’

श्रममन्त्री यादवको सचिवालयले वैदेशिक रोजगारीमा जाँदा कुनै पनि समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न अपिल समेत गरेको छ। पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।