काठमाण्डु – परराष्ट्र मन्त्रालयले इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भनी यसअघि सार्वजनिक गरिएको गलत सूचनाका कारण उत्पन्न अन्योल र असुविधाप्रति औपचारिक रूपमा क्षमायाचना गरेको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा अझै थुनामै रहेको स्पष्ट पार्दै माफी मागेको हो ।
मन्त्रालयका अनुसार १५ अप्रिल २०२६ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम सानियाईले कतारस्थित नेपाली कार्यबाहक राजदूत कुमार राईलाई झाको रिहाइ पत्र जारी भएको र उनी मुक्त भएको भनी इमेल पठाएका थिए । सोही अनौपचारिक जानकारीका आधारमा मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्रमन्त्री शिशिर खनालले समेत सामाजिक सञ्जालमार्फत रिहाको विषय सार्वजनिक गरेका थिए । तर केही दिनपछि मात्रै झा रिहा भई नसकेको र अदालतले विज्ञ प्रतिवेदन माग गरेको तथ्य खुलेको थियो ।
झालाई इरानको केस टापुबाट गत जनवरी २०२६ मा अवैध सामान ओसारपसारको आरोपमा ६ जना अन्य विदेशीहरूसहित इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । घटना फेब्रुअरीमा सुरु भएको अमेरिका–इजरायल र इरान द्वन्द्वभन्दा अगाडिकै हो । झा हाल इरानको बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
मन्त्रालयले पछिल्लो जानकारीअनुसार विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको जनाएको छ । ‘इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भए तापनि उपलब्ध सबै माध्यम प्रयोग गरी झाको निष्पक्ष सुनुवाइका लागि निरन्तर कूटनीतिक पहल जारी राखिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र मन्त्री लगायतका अधिकारीहरूले झाका परिवारलाई मन्त्रालयमै बोलाएर यथार्थ विवरणबारे जानकारी गराइसकेको र गलत सूचना प्रवाह भएकोमा मन्त्रालयले संवेदनशील रहेको समेत स्पष्ट पारेको छ ।




प्रतिक्रिया