काठमाण्डू– सामाजिक सञ्जालमार्फत एकाएक चर्चामा आएको ‘भारतीय ककरोच जनता पार्टी’ का प्रमुख संस्थापक अभिजित दिप्केले नेपाल र बंगलादेशका जेन–जी युवा अराजक रहेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले भारतका जेन–जी युवाहरु नेपाल र बंगलादेशका जस्ता अराजक भएको भन्दै उनीहरुसँग तुलना नगर्न चेतावनी दिएका छन् ।
‘धेरै पत्रकारहरुले मलाई सोधिरहेका छन्, के यो जेन–जी आन्दोलनले नेपाल वा बंगलादेशको जस्तो रुप लिन सक्ला ?’, उनले लेखेका छन्, ‘म यो कुरा विल्कुल स्पष्ट गर्न चाहन्छु, यस्तो तुलना गरेर भारतीय जेन–जी युवाहरुलाई अपमान गर्ने वा कमजोर ठान्ने काम नगरियोस् । यस देशका युवाहरु धेरै मानिसले सोचेभन्दा बढी परिपक्व, सचेत र राजनीतिक रुपमा जागरुक छन् ।’
उनले नेपाल र बंगलादेशमा जसरी हिंसा गर्ने पक्षमा आफूहरु नरहेको बताए ।
दिप्केले आफ्ना असहमति सधैं शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्ने भन्दै अनावश्यक तुलना गरेर होच्याउने तथा कम आँक्ने काम नगर्न चेतावनी दिए । धेरै भारतीय युवा हाल सत्ता सञ्चालन गरिरहेका अधिकांश नेताभन्दा बढी शिक्षित, सूचीत र थथार्थप्रति जागरुक रहेको उनको दाबी छ ।
‘म यो कुरा पूर्ण रूपमा स्पष्ट पार्न चाहन्छु कि यस्ता तुलना गरेर भारतको जेन–जी पुस्तालाई अपमानित वा कम आँक्ने प्रयास नगर्नुहोस् । यस देशका युवाहरू धेरैले सोचेजस्तो अपरिपक्व छैनन् । उनीहरू निकै परिपक्व, सचेत र राजनीतिक रूपमा सजग छन्’, दिप्केले लेखेका छन्, ‘उनीहरू आफ्ना संवैधानिक अधिकारबारे राम्रोसँग जानकार छन् र आफ्नो असहमति सधैं शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्छन् । कृपया उनीहरूलाई होच्याउने काम नगर्नुहोस् । यीमध्ये धेरै युवा अहिले सरकार चलाइरहेका थुप्रै व्यक्तिभन्दा बढी शिक्षित, सूचित र यथार्थप्रति सजग छन् ।’
आलोचकहरुले सार्क क्षेत्रका दुवै देश (नेपाल–बंगलादेश) को जेन–जी आन्दोलन हिंसात्मक रहेको र अनावश्यक रुपमा सरकारी संरचना तथा व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी, तोडफोड र लुटपाट भएको आरोप लगाउँदै आएका छन् ।
नेपालमा गत २३ र २४ भदौमा जेन–जी युवाले गरेको आन्दोलनले राजनीतिक उथलपुथल ल्याएको छ । आन्दोलन उत्कर्षमा पुग्दै गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओली पदबाट राजीनामा दिएर सरकारी निवास बालुवाटारबाटै ज्यान जोगाउन सैनिक हेलिकोप्टरमा भागे ।
आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले गत २१ फागुनमा मध्यावधि निर्वाचन गरायो ।
उक्त निर्वाचनमा जेन–जी पुस्ताको समर्थन पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाई बहुमतसहित सरकार चलाउने वैध म्याण्डेट पायो । सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री छन् ।
नेपालको भन्दा एक वर्ष एक महिनाअघि २१ साउन २०८१ म बंगलादेशमा जेन–जी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना बंग भवनबाट केही पारिवारिक सदस्यसहित हेलिकोप्टर चढेर भागेकी थिइन् । हाल उनी भारतमा शरण लिइरहेकी छन् ।




प्रतिक्रिया