काठमाण्डू–नेपालमा यस वर्षको प्रि–मनसुन याममा औसतभन्दा बढी वर्षा भयो । तर, मनसुन अवधिमा भने अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन दक्षिण बंगालको खाडी क्षेत्रमा सामान्यभन्दा करिब एक साता अगाडि नै सक्रिय भएको छ । विभागले मे महिनाको अन्त्यसम्ममा मनसुन पूर्वी नेपालमा प्रवेश गर्न सक्ने जनाएको छ ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार मनसुन सामान्यतया केरलाबाट नेपालतर्फ अघि बढ्ने भए पनि हालसम्म त्यहाँ पूर्ण रूपमा सक्रिय भइसकेको छैन । यद्यपि मनसुनको विकास र गति परिवर्तनशील हुने भएकाले नेपालमा मनसुन भित्रिने मिति अहिले नै यकिन गर्न नसकिने उनले बताइन् ।
दक्षिणी बंगालको खाडीअन्तर्गत अण्डमान तथा निकोबार टापु क्षेत्रमा यस वर्ष मनसुन सामान्य समयभन्दा करिब एक साता अगाडि नै प्रवेश गरिसकेको छ । सामान्यतया मे २२ मा मनसुन भित्रिने उक्त क्षेत्रमा यसपटक मे १६ मै मनसुन प्रवेश गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसुन ऋतुको वार्षिक आँकलनअनुसार २०८३ साल जेठ १८ गतेदेखि असोज १४ गतेसम्म देशका धेरै स्थानमा सरदरभन्दा कम वर्षा हुने औंल्याइएको छ ।
विभागका अनुसार कर्णाली प्रदेशको उत्तरी भू–भाग तथा कोशी प्रदेशको उत्तरी क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना छ ।
तर, कर्णालीको दक्षिणी क्षेत्र, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेस प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म देखाइएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशको पश्चिमी भाग तथा कोशी प्रदेशको मध्य क्षेत्रमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको आँकलन छ ।
मौसमविद् महर्जनका अनुसार यस वर्ष दक्षिण एसियाभर नै कमजोर मनसुनको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ, जसको असर नेपालमा पनि पर्न सक्छ । विभागले यस वर्ष तापक्रम पनि सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको छ ।
गत वर्ष कम वर्षाका कारण विशेषगरी तराई क्षेत्रमा कृषि उत्पादन, खानेपानी स्रोत, सिँचाइ तथा जलविद्युत् क्षेत्रमा असर परेको थियो । यस वर्ष पनि धान रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा किसान प्रत्यक्ष प्रभावित हुन सक्ने मौसमविद् महर्जनले बताइन् ।
विभागले मनसुनको अवस्थाबारे नियमित अद्यावधिक जानकारी लिइरहन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । गत वर्ष नेपालमा मनसुन मे २९ मा भित्रिएको थियो भने १३४ दिन सक्रिय रहेर अक्टोबर १० बाट बाहिरिएको थियो ।
यस वर्ष भने प्रिमनसुन याममा औसतभन्दा बढी वर्षा भएको विभागले जनाएको छ । विभागले फागुन १७ देखि जेठ १७ गतेसम्मको अवधिलाई प्रि–मनसुन याम मान्ने गरेको छ । सामान्यतया यस अवधिमा २२६ दशमलब ३ मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ ।
विभागको अद्यावधिक विवरणअनुसार जेठ १ गतेसम्म २३७ दशमलब २० मिलिमिटर वर्षा मापन भएको छ, जुन औसतको १०३ दशमलब ६ प्रतिशत हो ।
यसअघि २०७८/७९ को प्रिमनसुन याममा पनि औसतभन्दा बढी वर्षा भएको थियो । उक्त वर्ष २३३ दशमलब ९ मिलिमिटर अर्थात् १०३ दशमलब ४ प्रतिशत वर्षा भएको थियो ।




प्रतिक्रिया