सभामुख अर्यालको प्रश्नः एसएलसी पास नगरेको युवाले ‘ड्राइभिङ लाइसेन्स’ लिएर परिवार पाल्छु भन्न नपाउने किन ?

सभामुख अर्यालको प्रश्नः एसएलसी पास नगरेको युवाले ‘ड्राइभिङ लाइसेन्स’ लिएर परिवार पाल्छु भन्न नपाउने किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सभामुख डोलप्रसाद अर्याल (डिपी) ले चालक अनुमतिपत्र लिनका लागि एसएलसी वा एसईई परीक्षा उत्तीर्ण भएको योग्यता हुनुपर्ने कानूनी व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन् ।

पूर्वसांसद् मञ्चद्वारा शुक्रबार आयोजित कार्यक्रममा सभामुख अर्यालले एसएसलीसम्म अध्ययन नगरेका नागरिकले ‘ड्राइभिङ लाइसेन्स’ लिएर परिवार पाल्छु भन्न किन नपाउने ? भन्ने प्रश्न गरे ।

उक्त अव्यवहारिक र विभेदपूर्ण मापदण्ड फेरिनुपर्ने उनको भनाइ थियो । ‘एउटा नागरिकले ‘ड्राइभिङ लाइसेन्स’ लिएर आफ्नो परिवार पाल्छु भन्दा पनि तैंले एसएलसी पास गर्नुपर्छ’ भन्ने व्यवस्था कसरी बन्यो ?’, उनको प्रश्न थियो ।

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि कम्तिमा कक्षा १० उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था लागू गरेको छ ।


म्लुकका नागरिकको अवस्था, शिक्षा प्रणाली, भूगोल र सामाजिक व्यवहारिकतालाई हरेर कानून निर्माण गरिनुपर्नेमा अर्यालले जोड दिए ।

संसदले नागरिकका लागि भनेर बनाएका कतिपय अव्यवहारिक कानून जनतामाथि जबर्जस्ती लादिएको तर्क सभामुख अर्यालले गरे । आवश्यकताका आधारमा व्यवहारिक तथा नागरिकमैत्री कानुन निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

यस्तै उनले दुई पाँग्रे सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि १८ वर्ष र चार पाँग्रेका लागि २१ वर्ष उमेर हद तोकिएकामा पनि असन्तुष्टि जनाए ।

दुई पाँग्रेको तुलनामा चार पाँग्रे चलाउन सजिलो हुने भए पनि अप्ठ्यारो सवारी चलाउन कम उमेर रसजिलो चलाउन बढी उमेरमा चालक अनुमतिपत्र जारी गरिनु अव्यवहारिक र विरोधाभासपूर्ण रहेको तर्क उनको छ ।

‘हामीले बनाएको कानूनले पहिला असुरक्षित दुई पाँग्रे सवारी चलाऊ, त्यसपछि सुरक्षित चार पाँग्रे सवारी चलाउ भनेजस्तो भयो, अर्यालले भने ।

यस्तै चालक अनुमतिपत्रको लिखित परीक्षामा अनुत्तीर्ण भएपछि दोश्रो परीक्षाका लागि ९० दिन पर्खनुपर्ने व्यवस्था पनि ठीक नभएको उनले औंल्याए ।

प्रयोगात्मक परीक्षामा आज फेल भए अर्को दिन ट्रायल दिन पाउने तर, लिखितमा ९० दिन कुर्नुपर्ने कारणको औचित्य के भन्दै अर्यालले प्रश्न गरे ।