काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आसन्न महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा खुला गरिने बताएका छन् ।
कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुसँगको छलफलमा लामिछानेले अन्तरिक प्रतिस्पर्धा खुला रहेको बताएका हुन् ।
रास्वपाले आगामी असारको ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्दैछ । सांसद गणेश कार्कीले सभापति लामिछानेले आन्तरिक प्रतिस्पर्धा स्वीकार्य रहेको बताएको उल्लेख गरे ।
‘नेतृत्वमा आउन चाहनेको लागि प्रतिस्पर्धा खुला रहनेछ’, लामिछानेको भनाइ उद्धृत गर्दै उनले भने, ‘प्रतिस्पर्धा गर्दा नेतृत्वले अप्ठ्यारो पार्छ कि भन्ने नसोच्नुहोला ।’
लामिछानेले संसदमा कानून निर्माणको प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिए । उनले सांसदहरुलाई १ सय दिनसम्म आफूले संसदमा खेलेको भूमिकाको स्वमूल्यांकन गर्न भने ।
लामिछानेले सातवटैै प्रदेशका सांसदसँग साक्षात्कार सुरु गरेका हुन् । कोशीलगत्तै उनले मधेस प्रदेशबाट निर्वाचित सांसदहरुसँग छलफल थालेका छन् ।
क्रमशः सातै प्रदेशका सांसदसँग सभापतिले छलफल गर्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।




प्रतिक्रिया