काठमाण्डू– काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेशको सरकारको नेतृत्व छिट्टै काँग्रेसको हातमा आउने बताएका छन् ।
सुनसरीको लौकहीमा शुक्रबार आयोजित कार्यक्रममा शर्माले अब कोशी प्रदेशको सरकारको नेतृत्व काँग्रेसले गर्ने बताएका हुन् ।
‘कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले चाँडैनै गर्नेछ। अहिले यसबारेमा म धेरै बोल्न चाहन्नँ’, उनले भने, ‘तर यति चाहिँ सबैले प्रष्ट बुझ्ने गरी भन्छु, अब कोशी प्रदेशको सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।’
कोशीको मुख्यमन्त्री हाल एमालेका हिक्मत कार्की छन् । कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दा नै आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको दाबी काँग्रेस नेताहरुको छ ।
तर, काँग्रेस सभापति गगनकुमार थापा र उपसभापति शर्मासँग आफूलाई भेट्न गत साता गुण्डु पुगेका बेला एमाले अध्यक्ष केपी ओलीले आफ्नो गृहप्रदेशको मुख्यमन्त्री एमालेले राख्ने बताएका थिए ।
काँग्रेस चार मन्त्रालयसहित कार्की नेतृत्वको सरकारमा सहभागी छ ।




प्रतिक्रिया