काठमाण्डू–सर्वपक्षीय सहमतिपछि बाजुरा र हुम्लाको सीमा विवाद तत्कालका लागि टुंगिएको छ ।
बाजुराको हिमाली गाउँपालिका– ३ लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा सुरु भएको विवादले झडपको रुप लिएको थियो ।
चौकी निर्माण स्थलमा पुगेर हुम्लाको खर्पुनाथ गाउँपालिका– २ र ३ का स्थानीयले आक्रमण गर्दा एक प्रहरी सहायक हवल्दारसहित बाजुरातर्फका ५ जना घाइते भएका थिए ।
घटनापछि आक्रमणकारीमाथि कारबाहीको माग गर्र्दै बाजुराबासीले दुई ठाउँमा कर्णाली करिडोरअन्तर्गत धुलाचौरमा सडक अवरुद्ध पारेका थिए । सहमतिसँगै यातायात सुचारु भएको छ ।
सहमतिमा लाम्पाटा घटनाबारे स्थलगत अनुगमन गरी सर्जिमन मुचुल्का तयार पार्ने, आक्रमणमा संलग्नमाथि अनुसन्धान गरी कारबाही अपिघ बढाउने, लुटिएको आन्तरिक पर्यटकका सामान फिर्ता गर्ने, कुटपिटमा घाइते भएकाको उपचारको व्यवस्था तथा क्षतिपूर्ति दिलाउने, घटनापछि विस्थापित हिमाली गाउँपालिकाका स्थानीयको पुनस्र्थापना गरिने, प्रहरी चौकी निर्माणका लागि लगिएका सामान नष्ट गरिएकामा त्यसको क्षतिपूर्ति आक्रमणकारीबाटै भराउने र चौकी स्थापनाको काम तत्काल अघि बढाउने उल्लेख छ ।
बाजुरातर्फका स्थानीयले २४ घण्टाभित्र सहमति पालना नभए अनिश्चितकालीन आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
सहमति पत्रमा आन्दोलनरत हिमाली युवा क्लबका अध्यक्ष विनोद बुढा, प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, सशस्त्र प्रहरी बलका निरीक्षक प्रदीप रावत, हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, वडा–६ का अध्यक्ष प्रेमलाल भण्डारी, वडा–४ का अध्यक्ष भीमानन्द पाण्डे तथा स्थानीय राजनीतिक दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक पाण्डे, कांग्रेसका अम्मलाल कार्की, एमालेका बिर्ख भण्डारीले हस्ताक्षर गरेका छन् ।




प्रतिक्रिया