यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो चल्ने

यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो चल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल, मधेस प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदुरपश्चिम प्रदेशको एक‍–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिममा तातो चल्ने

यता लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर (लु) चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी रहने तथा थोरै ठाउँहरूमा ४० डिग्री सेल्सियस वा त्यो भन्दा बढी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको हो ।

विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अद्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन गरिएको छ ।