रोगको जोखिमलाई घटाउने उपाय ‘पेन–डी प्याकेज’

रोगको जोखिमलाई घटाउने उपाय ‘पेन–डी प्याकेज’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा कुल मृत्युको झन्डै ७० प्रतिशतभन्दा बढी हिस्सा अहिले नसर्ने रोग का कारण हुने गरेको तथ्याङ्कले देखाएको छ । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका बिरामी तीव्र रूपमा बढ्दै जाँदा स्वास्थ्य प्रणालीमाथिको दबाब पनि बढिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०३० सम्म नसर्ने रोगका कारण हुने मृत्यु दर ७९ प्रतिशतसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बहुक्षेत्रीय कार्ययोजना अनुसार करिब २२ प्रतिशत नेपाली ३० देखि ७० वर्षको उमेरमै नसर्ने रोगका कारण अकाल मृत्युको जोखिममा रहेका छन् ।

यही चुनौतीलाई ध्यानमा राख्दै सरकारले विश्व स्वास्थ्य सङ्गठन को अवधारणामा आधारित पेन–डी प्याकेज लागू गरेको छ । ‘पेन–डी’ अर्थात् प्राथमिक स्वास्थ्य सेवाका लागि अत्यावश्यक नसर्ने रोग बेवस्थापन ले प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय अस्पतालबाटै नसर्ने रोगको जाँच उपचार र परामर्श सेवा सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यो प्याकेज विशेषगरी विपद्को समयमा नसर्ने रोग भएका बिरामीलाई उपचार सेवाको निरन्तरता दिन केन्द्रित रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपाल बाढी, पहिरो, भूकम्प तथा जलवायुजन्य विपद्का हिसाबले उच्च जोखिममा रहेकाले यस्ता अवस्थाले नियमित औषधि सेवन गर्ने बिरामीलाई थप संकटमा पार्ने गरेको छ ।

पेन–डी प्याकेज  अन्तर्गत उच्च रक्तचाप र मधुमेहको नियमित परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, आवश्यक औषधिको पूर्वभण्डारण, मोबाइल क्लिनिक सञ्चालन, टेलिमेडिसिन सेवा, समुदायस्तरमा निगरानी तथा जोखिममा रहेका बिरामीको पहिचान गर्ने व्यवस्था गरिएको छ ।

यसका साथै दैनिक व्यायाम, स्वस्थ खानपान, सूर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रणजस्ता जीवनशैली सुधारका उपायलाई पनि प्राथमिकतामा राखिएको छ । स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत समुदायमा जनचेतना अभिवृद्धि गर्ने काम पनि भइरहेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाल रेडक्रस सेसाइटी को सहकार्यमा विकसित गरिएको यो प्याकेजमा डेनिस रेडक्रस, क्यानाडियन रेडक्रस, आरहुस विश्वविद्यालय तथा नोभो नोर्डिस्क फाउन्डेसनको प्राविधिक तथा आर्थिक सहयोग रहेको छ ।

हाल कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा पेन–डी प्याकेज अन्तर्गत विपद्को समयमा नसर्ने रोग व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । परियोजनाअन्तर्गत कृत्रिम विपद् अभ्यासमार्फत औषधि आपूर्ति, स्वास्थ्य टोली परिचालन तथा बिरामी व्यवस्थापन प्रणाली परीक्षण गरिएको थियो ।

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले नसर्ने रोगको समस्या बाढी प्रभावित क्षेत्रमा थप चुनौतीपूर्ण बनेको बताउँदै आगामी वर्षदेखि ‘पेन–डी प्याकेज’ लाई नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गर्ने तयारी रहेको बताए।

त्यस्तै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले विपद्को समयमा नसर्ने रोग भएका बिरामीको उपचार निरन्तरता सुनिश्चित गर्न यो कार्यक्रम प्रभावकारी देखिएको बताए।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले पेन–डी प्याकेज लाई अब परीक्षण चरणमा सीमित नराखी देशभरका पालिकामा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार यसले नसर्ने रोगबाट हुने अकाल मृत्यु, आर्थिक भार तथा जटिलता न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।