काठमाण्डु – विक्रम संवत् २०८३ वैशाखयता शनिबारसम्म भएका १ हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८३ को पछिल्लो ४० दिनमा भएका घटनामा ३३३ जना नागरिक घाइते भएका छन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । हुरीबाट ९, जनावरको आक्रमणबाट ८, सर्पदंशबाट ५, पहिरोबाट २, डुङ्गा पल्टिएर २ तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर १/१ जनाको मृत्यु भएको छ ।
ती विपद्का घटनाबाट १ हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विपद्जन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन् । हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेका ३ जनाको मृत्यु भएको पनि उनले बताए । ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।
देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ ।




प्रतिक्रिया