काठमाण्डु- पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ ।महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि आइतबारबाट डोजर चलाएको हो ।
अहिले सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो ।
पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ ।
महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको थियो । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

महानगरका फिर्केका तीन स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिएकाे छ । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजरहरू चलेका छन् ।








प्रतिक्रिया