काठमाण्डू– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले आफ्नो आवाज नसुनेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डिपी) अर्यालको भूमिका सन्देहात्मक रहेको निस्कर्ष निकालेका छन् ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको विपक्षी चार दलको बैठकले प्रधानमन्त्री र सभामुखबाट पटकपटक संसदलाई अवमूल्यन गर्ने, विधि, प्रक्रिया र अभ्यासको खिलाफमा उभिने तथा विपक्षीप्रति अनुदार व्यवहार देखाउने गरेको निस्कर्ष निकालेको हो ।
छलफलमा प्रमुख प्रतिपक्षी काँग्रेस प्रमुख सचेतक बासना थापा, एमाले प्रमुख सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपा प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई भने छलफलमा थिएनन् । नेकपाका प्रमुख सचेतक दुलालले खबर गरिएको भए पनि राई छलफलमा सहभागी नभएको बताए ।
प्रधानमन्त्रीले जननिर्वाचित संसदलाई एकपछि अर्को गरी अवमूल्यन गर्ने र सभामुख अर्यालले प्रधानमन्त्रीलाई जवाफदेही बनाउनुको साटो विपक्षीलाई पेलेर बलजफ्ती संसदको कारबाही अघि बढाएको भन्दै बैठकले आपत्ति जनाइएको दुलालले बताए ।
नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री शाह प्रश्नोत्तरमा सहभागी नभएको भन्दै विपक्षीले ७ जेठको बैठकमा नाराबाजी गरेका थिए । विपक्षीको अवरोधबीच सभामुख अर्यालले केही सरकारी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।
दुलालका अनुसार विपक्षी दलले १२ जेठमा बस्ने बैठकमा पनि प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी नभएको विषय उठाएर बैठक अवरुद्ध गर्नेछन् ।
दुलालले संसद् बैठक नचलेको बीचको अवधिमा सभामुखले सरकार र विपक्षीलाई संवादमा ल्याएर सहमति प्रयास गर्नुपर्नेमा उदाशिन देखिएको आरोप लगाए ।
‘हामीले नियमावलीको व्यवस्था उद्धृत गरेर प्रधानमन्त्रीलाई प्रश्नोत्तरमा सहभागी हुनका लागि रुलिङको माग गरेका थियौं । तर, सभामुखले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउने प्रयास गर्नुको साटो विपक्षीलाई पेलेर जबर्जस्ती बैठक सञ्चालन गर्नुभयो’, दुलालले काठमाण्डुपाटीसँग भने, ‘संसदको अवमूल्यन गर्ने प्रधानमन्त्री र त्यसमा सरकारको सहयोगीको भूमिका खेल्ने सभामुख दुवैको रबैया आपत्तिजनक छ । केही दिन संसद् स्थगित गरेर उहाँले संवादको वातावरण बनाउन सक्नुहुन्थ्यो । सभामुखले दुवै पक्षको कुरा सुनेर समन्यवकारी भूमिका खेल्नुपर्नेमा सरकारको प्रवक्ता बन्नुभयो । सरकारका तर्फबाट पनि समस्या समाधानका लागि विपक्षीसँग संवादको प्रयास भएको छैन ।’
दुलालले ७ जेठको बैठक रोकेर सिंहदरबार गएका सभामुख अर्यालले प्रधानमन्त्रीसँग भेट गरेको हो कि होइन भन्नेबारे पनि जवाफ चाहिने बताए ।
प्रधानमन्त्रीसँग भेटेको हो भने प्रश्नोत्तर कार्यक्रममा मा सहभागी हुने/नहुनेबारे उनको धारणा के थियो संसदलाई जानकारी हुनुपर्ने माग विपक्षीको छ ।
‘प्रधानमन्त्री र सभामुखको भेट भयो कि भएन ? भेट भएको हो भने प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने विषयमा उहाँको धारणा के थियो सदनलाई जानकारी चाहिन्छ’, उनले भने ।




प्रतिक्रिया