सरकारबारे बोल्यो कि ‘झोले’ भन्न १० हजार मानिस परिचालित छन्ः मिश्र

सरकारबारे बोल्यो कि ‘झोले’ भन्न १० हजार मानिस परिचालित छन्ः मिश्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू, १० जेठ–सर्वोच्च अदालतमा विद्यमान गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाउने तयारी भएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बार अध्यक्ष विजयप्रसाद मिश्रले गोलाप्रथा प्रणाली हटाइए स्वीकार्य नहुने चेतावनी दिए ।

गोलाप्रथा प्रणाली हटाएर प्रधानन्यायाधीशले पेशी तोक्ने प्रणाली पुनस्र्थापित गरिए न्यायालय राजनीतिक प्रभावमा पर्ने खतरा औंल्याए ।

गेलाप्रथा हटाइए त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिए । ‘सर्वोच्चमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ’, उनले भने, ‘प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्थाले न्यायालयमा राजनीति हाबी हुन्छ । हामी त्यो मान्न सक्दैनौं ।’

फरक प्रसंगमा अध्यक्ष मिश्रले प्रधानमन्त्रीलाई मन परेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा सुरु भएको बताए । उनको संकेत तीन वरिष्ठ न्यायाधीशलाई छाडेर न्याय परिषदले चौथो वरियताका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको तर्फ थियो ।

बारले यसअघि नै वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त हुने परम्परा र प्रणाली मिचिएको भन्दै आपत्ति जनाएको थियो । यद्यपि संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएर शर्माले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसकेका छन् ।

मिश्रले न्यायपालिकाले इतिहासकै गम्भीर परिस्थितिको सामना गरिरहेको भन्दै न्यायाधीशहरुलाई बलियो बनाउने भूमिका कानून व्यवसायीले खेल्नुपर्ने उल्लेख गरे ।

सरकारको आलोचना गर्ने व्यक्तिविरुद्ध झोलेको आरोप लगाउँदै १०औं हजार मानिस परिचालित गर्ने गरिएको टिप्पणी मिश्रले गरे ।

‘सरकारविरूद्ध केही बोल्यो कि यो झोले हो भनेर दश हजार मान्छे परिचालन गर्छ अहिले’, उनले भने, ‘ यो बेलामा पनि हामीले विवेक गुमाउनु त भएन ।’