बीमाले धानेको उपचार आफ्नै खर्चमा गर्न परेपछि विपन्न परिवार मारमा

बीमाले धानेको उपचार आफ्नै खर्चमा गर्न परेपछि विपन्न परिवार मारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू– बिहीबार बिहान त्रिभुवन शिक्षण अस्पतालको प्राङ्गणबाट चितवनकी सम्झना श्रेष्ठ श्रीमानसँग फोनमा कुरा गर्दै थिइन् । दुई वर्षको छोरा छेउमै खेलिरहेको थियो भने उनी आठ महिनाकी गर्भवती थिइन् । साउदी अरबमा रहेका श्रीमानसँग उपचार खर्चका लागि पैसा पठाइदिन आग्रह गरिरहेकी थिइन् । कारण थियो स्वास्थ्य बीमा सेवा बन्द हुनु ।

पहिलो सन्तान हुँदा झण्डै एक लाख रुपैयाँ खर्च भएको थियो । ‘यसअघि स्वास्थ्य बीमाले कभर गरेकाले सबै उपचार गरेर करिब १० हजार मात्रै तिर्नुपरेको थियो’, उनले काठमाण्डूपाटीसँग भनिन्, ‘अहिले बीमाले नदिने नभएपछि खर्च कताबाट जुटाउने भन्ने समस्या भयो । अस्पतालले बीमा बन्द भइसकेको भनेको छ ।’

विपन्न र दुर्गमका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच होस् भन्ने हेतुले सरकारले स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो । तर, सरकारले भुक्तानी नदिएको भन्दै एकपछि अर्को गर्दै अस्पतालहरुले स्वास्थ्य बीमाको सेवा कटौती गर्न थालेका छन् । स्वास्थ्य बीमा बन्द हुँदा गरिबीको रेखामुनी रहेका धेरै नागरिकलाई स्वास्थ्य सेवा पाउन समस्या भएको छ ।

स्वास्थ्य बीमाबाट प्रत्यक्ष लाभ लिएका सम्झनाजस्ता धेरै नागरिकले आर्थिक अभावकै कारणले आफनो स्वास्थ्य जाँच गराउन समस्या भइरहेको छ । बीमाकै भरमा नियमित स्वास्थ्य परीक्षण र उपचार गराउँदै आएका ग्रामीण तथा विपन्न परिवार अहिले खर्च जुटाउने चिन्तामा परेका छन् । यसअघि स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रतिपरिवार एक लाखदेखि तीन लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध हुँदै आएको थियो । तर पछिल्लो समय विभिन्न अस्पतालहरूले सेवा बन्द गर्न थालेपछि सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन् ।

यता सेवा प्रदायक अस्पतालहरुले बीमा बोर्डबाट समयमै रकम भुक्तानी नपाउँदा सेवा प्रवाहमा समस्या भएको बताउँछन् बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्ले । बीमित र सेवा लिनेको संख्या तीव्र रूपमा बढ्दै जाँदा स्वास्थ्य बीमा बोर्डमा आर्थिक भार बढेको बताए ।

रौतहटका धिरेन्द्र पासवान पेट दुख्ने समस्या लिएर उपचारका लागि त्रिवी शिक्षण अस्पताल पुगेका थिए । उनलाई परीक्षणपछि आन्द्रामा घाउ भएको र शल्यक्रिया गर्नुपर्ने जानकारी चिकित्सकले दिएका थिए । उनी स्वास्थ्य बीमाबाट सहजै उपचार हुने आशामा अस्पताल पुगेका थिए । तर अस्पतालको बीमा शाखामा पुगेपछि कर्मचारीले सेवा बन्द भएको जानकारी दिए । बीमा छ भनेर ढुक्कले अस्पताल आएको थिएँ’, उनले भने, ‘तर बीमा नभएको थाहा पाएपछि होसै हरायो । अब अपरेशनको भन्दा खर्च कहाँबाट जुटाउने भन्ने चिन्ता छ ।’

त्रिवी शिक्षण अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गरिसकेको छ । अन्य धेरै अस्पतालले पनि सेवा बन्द गर्ने तयारी गरिरहेका छन् । अस्पतालमा विगतमा दुई तीन वर्षदेखि बीमा दर, प्याकेज दाबी अस्वीकृति तथा ४०–४२ करोड रुपैयाँसम्मको भुक्तानी नपाएपछि सेवा रोक्न बाध्य त्रिवी अस्पतालका लेखापाल राजु खड्गीले बताए ।

गत वर्ष देशभरका अस्पतालबाट दैनिक औसत ५० हजार जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका थिए । यो वर्ष उक्त संख्या बढेर ७० देखि ७५ हजार पुगेको बताइएको छ । हाल करिब ६८ लाख नागरिक सक्रिय रूपमा सूचीकृत वा नवीकरण गरेर स्वास्थ्य बीमामा आवद्ध छन् ।

पछिल्ला वर्षहरूमा स्वास्थ्य बीमामा आबद्ध हुने र सेवा लिनेको संख्या १७८ गुणाले वृद्धि भएको तथ्याङ्क छ । निर्देशक काफ्ले गएको वर्ष स्वास्थ्य बीमाको लोकप्रियता बढे पनि अहिले स्वास्थ्य वीमाका लागि सरकारले आर्थिक श्रोत जुटाउन नसक्दा सेवाग्राही प्रत्यक्ष मारमा परेको बताउँछन् ।

देशभर ७७ जिल्लाका करिब ७५० स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । ५१० वटा अस्पतालहरुले स्वास्थ्य बीमाबाट नागरिकहरुलाई प्रत्यक्ष लाभ दिइरहेका छन् । तर केही अस्पतालहरुले भने स्वास्थ्य बीमाको सेवा हटाउने सुरु गरिरहेका छन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुर्नसंरचना गरेर व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताए पनि पुनर्संरचना कस्तो हुने भनेर निक्यौल गरिसकेको छैन । हटाइएका अस्पतालहरुबाट कहिलेदेखि पुन रुपमा स्वास्थ्य बीमा सञ्चालन हुन्छ भन्ने स्पष्ट छैन ।

यसअघि स्वास्थ्यमन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गरेर प्रणालीलाई थप व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताएकी थिइन् । पछिल्लो समय बीमा प्रणालीमा देखिएको आर्थिक भार, चुहावट तथा व्यवस्थापनसम्बन्धी समस्यालाई सेवा अवरुद्ध हुनुको मुख्य कारणका रूपमा हेरिएको छ ।