काठमाण्डू– एमाले सचिवालय बैठकले आइतबार उप–महासचिव योगेशकुमार भट्टराईको वरीयता सच्यायो ।
बिहीबार ओलीले प्रस्तुत गरेको नेताहरुको कार्यविभाजनमा भट्टराईको वरीयता तीन उपमहासचिवमध्ये अन्तिमा थियो । उप–महासचिवमा लेखराज भट्ट र रघुवीर महासेठपछि भट्टराईको नाम प्रस्ताव गरिएको थियो ।
त्यसबारे बैठकमा प्रश्न उठेपछि सचिवालय बैठकको अन्तिम दिन ओलीले भट्टराईको वरीयता दोश्रो र महासेठको तेश्रोमा राख्न महासचिव शंकर पोखरेललाई निर्देशन दिए । ‘१०औं महाधिवेशनकै वरीयताक्रम कायम गरेर जाऔं, योगेशजीको नाम रघुवीरको भन्दा अगाडि राख्नुुस्’, ओलीले बैठकमा भने ।
नवौं र दशौं महाधिवेशनबाट दुई कार्यकाल लगातार सचिव भएका भट्टराई गत पुस पहिलो साता सम्पन्न ११औं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका हुन् ।
आफ्नो वरीयता परिवर्तन गरिएको बारे आइतबारको बैठकमा उनले बोलेका थिए । उनले आफ्नो नाम पदाधिकारमध्ये पार्टीका सचिवहरुको लहरमा सबैभन्दा तल राखे पनि फरक नपर्ने बताएका थिए । राजनीतिमा वरीयताभन्दा भूमिकाले फरक पार्ने भएकाले आफूलाई केही फरक नपर्ने भट्टराईको भनाइ थियो ।
‘कमरेड रघुवीर महासेठ उमेरले मभन्दा दाई हुनुहुन्छ । मैले उहाँलाई दाई नै भन्दै आएको छु । उहाँको नाम मेरोभन्दा अगाडि राखिएकोमा मेरो प्रश्न छैन । पदाधिकारीहरुको पुछारमा सचिवहरुभन्दा पछाडि मेरो नाम राखे पनि फरक पर्दैन’,भट्टराईले भनेका थिए, ‘वरीयता भन्ने व्यर्थको कुरा हो । म बुझ्छु यसको अर्थ मलाई ‘ह्युमिलेट’ गर्नु हो ।’
१०औं महाधिवेशनबाट निर्वाचित ७ सचिवमा भट्टराई चौथोमा थिए । टोपबहादुर रायमाझी, गोकर्णराज विष्ट र लेखराज भट्टपछि उनको वरीयता थियो । उनीपछि रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल थिए । रायमाझी भुटानी शरणार्थी प्रकरणमा कारागारमा छन् ।
विष्ट ११औं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भए । त्यतिखेरका तीन सचिवहरु भट्ट, भट्टराई र महासेठ उप–महासचिव छन् । अघिल्लो कार्यकालका सचिवद्वय छविलाल विश्वकर्मा र पद्मा अर्याल ११औं महाधिवेशनबाट पनि सोही पदमा दोहोरिएका छन् ।
ओलीको आलोचक मानिने भट्टराईले जेनजी आन्दोलनपछि पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको एजेण्डा अघि सार्दै आएका छन् । आइतबार सचिवालय बैठकमा बोलेका उनले ओलीलाई नेतृत्व छाड्न भनेका थिए ।
‘एमाले अब यही शैली र नेतृत्व बोकेर अगाडि जान सक्दैन’, भट्टराईले भनेका थिए, ‘तपाईंले राजीनामा दिनु नै हाम्रो थप बर्बादी रोक्ने उपाय हो ।’




प्रतिक्रिया