लुसिफर राइजिङ विवाद राजनीतिक दबाब कि आन्तरिक मतभेद

लुसिफर राइजिङ विवाद राजनीतिक दबाब कि आन्तरिक मतभेद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- थापागाउँस्थित एक थिएटर नेपाल मा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ अचानक अनिश्चितकालका लागि रोकिएपछि नेपाली रंगमञ्चमा नयाँ बहस सुरु भएको छ । सुरुमा निर्माण समूहले राजनीतिक दबाबका कारण नाटक रोक्नुपरेको दाबी गर्‍यो । तर केही घण्टामै सार्वजनिक अर्को स्पष्टीकरणमा भीडलाई दोष दिइयो । त्यसपछि प्रश्न झन् पेचिलो बन्यो-नाटक साँच्चै राजनीतिक हस्तक्षेपका कारण रोकियो कि विवाद सिर्जना गर्ने गरी तयार पारिएको एउटा नाटकीय अवस्थामात्र थियो ?

नाटक निर्माण संस्था मझुवा बगरले आइतबार साँझ जारी गरेको पहिलो सूचनामा अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण शो रोक्न बाध्य भएको उल्लेख गरेको थियो । उक्त सूचनापछि सामाजिक सञ्जालमा सरकारविरुद्ध आलोचना चुलियो । धेरैले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरे । विशेषत लुसिफर शब्दलाई पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह का आलोचकहरूले सांकेतिक रूपमा प्रयोग गर्दै आएका कारण नाटक सरकारको दबाबमा रोकिएको अनुमान तीव्र बन्यो ।

तर त्यसको केही समयपछि मझुवा बगरकै इन्स्टाग्राम पेजमार्फत सार्वजनिक अर्को वक्तव्यले घटनालाई नयाँ मोड दियो । निर्देशक सहलेसको भनाइका रूपमा प्रस्तुत उक्त पोस्टमा भीडको राजनीति हुँदैन भन्दै नाटक रोक्ने शक्ति कुनै सरकारी निकाय वा राजनीतिक दल नभएको दाबी गरिएको थियो । “अँध्यारोभित्र बस्ने शैतान” र “भीडको सामु लेखकले आत्मसमर्पण गरेको” जस्ता प्रतीकात्मक भाषाले भरिएको उक्त वक्तव्यले वास्तविक कारण झन् अस्पष्ट बनायो ।

यसबीच नाटकभित्रै आन्तरिक मतभेद चर्किएको तथ्य पनि बाहिर आएको छ । नाटकमा अभिनय गरेका कलाकार मिलनबहादुर खड्काले निर्देशक सहलेसले रिहर्सल र मूल स्क्रिप्टभन्दा बाहिर गएर अन्तिम समयमा नयाँ पात्र थपेको बताए । उनका अनुसार त्यो पात्र कालो चस्मा र कालो टिसर्टमा अर्को पात्रले घेरेको चरित्र थियो जसलाई धेरै दर्शकले बालेनसँग दाँजेर हेरे ।

शनिबारको शोपछि हलभित्रै मिलनले उक्त पात्रप्रति असहमति जनाउँदै पात्र राखेमा नाटक नखेल्ने भनेका थिए । वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल ले पनि कलाकारहरूबीच त्यही पात्रलाई लिएर विवाद देखिएको पुष्टि गरेका छन् । पोखरेलका अनुसार त्यो पात्रले कसलाई संकेत गरिरहेको हो भन्ने स्पष्ट नभए पनि दर्शकहरूमा त्यसले राजनीतिक संकेत दिएको अनुभूति थियो ।

मिलन खड्काले भने आफूलाई कुनै राजनीतिक धम्की नआएको स्पष्ट पारेका छन् । उनका अनुसार निर्देशकसँगको कलात्मक असहमतिपछि नै उनले नाटक छाड्ने निर्णय गरेका थिए ।

निर्देशक सहलेसले यसअघि देउराली डाँडी, कि कुमार जेलमा कि कुमार रेलमा र माइला कामी मान्धम जस्ता नाटक लेखिसकेका छन् । लुसिफर राइजिङ उनको १६औँ नाटक हो ।

नाटकको कथावस्तु भदौ २४ को जेन–जी आन्दोलन पछि विकसित सामाजिक तथा राजनीतिक वातावरणसँग जोडिएको बताइएको छ । सुकुम्बासी बस्तीको पृष्ठभूमिमा निर्माण गरिएको नाटकले शक्ति अँध्यारो प्रवृत्ति, दुर्व्यसन र मानिसभित्रको राक्षसी चरित्रलाई विषय बनाएको दाबी गरिएको थियो । पोस्टरमा हालै हटाइएको सुकुम्बासी बस्तीको तस्वीरसमेत प्रयोग गरिएको थियो ।

नाटक रोकिएपछि रंगमञ्च क्षेत्रका व्यक्तिहरू खुलेर बोलेका छन् । धेरै नाट्यकर्मीले पञ्चायतकालमा नाटक सेन्सर हुने कथा सुनेको तर राजनीतिक दबाबका कारण नाटक रोक्नुपरेको पहिलोपटक भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

अहिले लुसिफर राइजिङ विवादपछि पनि एउटा प्रश्न अझै अनुत्तरित छ नाटक वास्तवमै कसले रोक्यो ? राजनीतिक शक्ति, भीडको दबाब, कि कलाकारहरूबीचको अविश्वास ।