काठमाण्डू– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि समाचार लेखेकै आधारमा राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम गरेको भन्दै सरकारलाई त्यसो नगर्न चेतावनी दिएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित पार्ने काम रोक्न माग गरे ।
सरकारका राम्रा कामको बखान गर्ने र नागरिकमा पु¥याउने आमसञ्चार माध्यमले लोकतन्त्रमा सरकारका कमीकमजोरीमा पनि समाचार लेख्न र खबरदारी गर्न पाउनुपर्ने उनको भनाइ थियो ।
उनले प्रकाशित समाचार गलत भए नियमन गर्ने काम प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने स्मरण गराउँदै दुलालले राज्य शक्तिको दुरुपयोग नगर्न भने । ‘गएको २४ घण्टा देशका एक जना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ रे भन्ने समाचारले बजार लियो । समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित गर्ने प्रवृत्ति अहिले देखिएको छ । यसले आमसञ्चार माध्यममार्फत एउटा संशय पैदा भएको छ’, दुलालले भने, ‘सरकारका राम्रा कामको बखान गर्ने र नागरिकमा पु-याउने आमसञर माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमीकमजोरीका पनि समाचारहरु लेख्न सक्छन् । त्यस कारणले पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा जुन स्तरको आतंक सृजना गरिएको छ । यसले आमसञ्चार माध्यममा नकारात्मक सन्देश गएको छ । पत्रकारले लेखेका समचारलाई नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपालमार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस् भन्ने हाम्रो दल माग गर्दछ ।’




प्रतिक्रिया