काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् ।
कन्सुलर सेवा विभागले मंगलबार आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा बोल्दै उनले सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन उक्त एप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
‘विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका विषयमा जानकारी नहुने भएकाले कन्सुलर सेवाको काम बढेको छ,’ उनले भने, ‘विदेशमा रहेकाका आफन्तलाई कुनै जानकारी दिन पनि यो सेवा सहयोगी हुने छ ।’
यो सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको छ । कानुनी सेवा अहिले ५०० स्थानीय तहमा पुगिसकेको जानकारी पनि कार्यक्रममा गराइएको थियो । आगामी आर्थिक वर्षमा यो सेवा सबै स्थानीय तहमा लैजाने कार्यक्रम रहेको मन्त्री खनालले बताए ।
‘मोफा मित्र’ मोबाइल एपबाट सहजरूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसबाट सम्बन्धित नियोगबाट थप सहयोग लिन सकिने व्यवस्था एपमा गरिएको छ । प्रविधिमार्फत् सेवाको पहुँच बढाउने लक्ष्यअनुसार सुरु गरिएको सेवामा प्रविधिमा विकास आएसँगै विस्तार गर्दै जाने पनि उनको प्रतिबद्धता छ ।
अनौपचारिक रूपमा भारतमा रहेका नेपाली बाहेक विधिवत् रूपमै ५० लाख नेपाली विभिन्न सेवामा विदेशिएका छन् । अप्ठ्यारो परेका विषयमा मोबाइल एप डाउनलोड गरेर गुनासो पनि राख्न सकिने छ ।
शव व्यवस्थापन, क्षतिपूर्ति, बीमा दावीलगायत विषयका लागि एपबाट सहज हुने विश्वास गरिएको छ । विदेश जाने नेपालीको सङ्ख्या बढिरहेकाले यो एप प्रभावकारी हुनेछ ।
एपबाट निवेदन गरेपछि के-के हुन्छ, मोबाइलबाट हेर्न सकिने गरी व्यवस्था गरिएको छ ।




प्रतिक्रिया