आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान

आर्थिक सर्वेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान

अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपियाँ र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चालू आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्‍को बैठकमा बुधबार चालू आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धिदरलाई सकारात्मक मानिएको छ ।

देशको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपियाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्यून रहने देखिएको छ ।

अर्थमन्त्रीले संसद्‍मा पेस गरेका सर्वेक्षणअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ । आर्थिक गतिविधिमा बागमती प्रदेशको दबदबा कायम छ, जसले कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्‍याएको छ ।

यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले सङ्कुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ ।

अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय राजस्व ३।२ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनका अनुसार सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत (विकास) खर्चमा भने उल्लेख्य सुधार हुन सकेको छैन । सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो । यसै वर्ष सरकारले ३ खर्ब रुपियाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।

अर्थमन्त्रीले देशको बाह्य क्षेत्र निकै बलियो देखिएको उल्लेख गरेका छन् । सर्वेक्षणअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ । यस्तै, विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपियाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८।५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपियाँ पुग्नु अर्थतन्त्रका लागि चुनौती बनेको छ ।

आर्थिक सर्वेक्षणअनुसार प्रविधिमैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ । फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपियाँ नाघेको छ । यस्तै, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘बीबी’ स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको सङ्केत गर्छ । मुद्रास्फीति भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत छ ।

मानव विकासका सूचकमा पनि नेपालले प्रगति गरेको छ । मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रतिलाख १५१ र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ । शिक्षातर्फ आधारभूत तहको खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।