नेपाली चिया निर्यात समस्याका विषायमा भारतका सम्बन्धित मन्त्रालयसँग छलफल भएको छ : उद्योगमन्त्री

नेपाली चिया निर्यात समस्याका विषायमा भारतका सम्बन्धित मन्त्रालयसँग छलफल भएको छ : उद्योगमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ अघि बढेको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषयमा आजको बैठकमा जवाफ दिदै उनले वार्षिक २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास गरी समाधानतर्फ गएको बताएकी हुन् ।

चिया निर्यातको ८० देखि ९० प्रतिशत भारतमा हुने गरेको पनि उनले जानकारी दिइन् । उनका अनुसार चिया निर्यातको सहजीकरणका लागि मन्त्रालयबाट गत चैत ३० गते नै पत्राचार गरिएको छ ।

यससम्बन्धी समस्या र समाधानका लागि भइरहेको प्रयासका विषयमा चिया विकास बोर्डसँग वैशाख २८ गते छलफल भएको थियो । अर्थोडक्स चिया भने भारतमा मात्र निर्यात हुने गरेको छ ।

यसैगरी नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट भारतका सम्बन्धित मन्त्रालयसँग छलफल भएको जानकारी पनि मन्त्री गौरी कुमारीले दिइन् । नेपालबाट भारत हुँदै अन्य मुलुकमा चिया निर्यातका लागि पनि सहजीकरणको प्रयास भइरहेको छ ।

उपभोग्य वस्तुको अधिकतम् खुद्रा मूल्य कायम गराउन भन्सार विभागलाई जिम्मा दिइएको पनि उनले सुनाइन् । उपभोग्य वस्तुका गुणस्तरको अनुगमन भने उपभोक्ता विभागले गर्दै आएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार लुम्बिनी क्षेत्रका उद्योग स्थानान्तरण गर्ने विषयमा काम अघि बढेको जानकारी पनि उनले गराइन् । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको पर्खालबाट १५ किमीसम्मका उद्योग स्थानान्तरण गर्न सर्वोच्चले फैसला गरेको थियो ।