काठमाण्डु- रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली १ जलविधुत आयोजनाको पानी बहाव नियन्त्रण गर्ने वेयरगेट ड्यामको गेट उदघाटन गरिएको छ ।
नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले बुधबार आयोजित कार्यक्रममा वेयरगेटको उद्घाटन गरेसँगै आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।
राजदूत पार्कले कोरियाले विगत ५२ वर्षदेखि नेपालको दिगो आर्थिक विकासमा सहयोग गर्दै आएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्यका थप सम्भावना रहेको बताए ।
नेपाल जल तथा ऊर्जा विकास कम्पनी प्रालिद्वारा निर्माणाधीन यो आयोजना नेपालकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी परियोजनामध्ये एक हो । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी लगानी संरचना रहेको छ ।
आयोजना सन् २०२७ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अन्तर्राष्ट्रिय वित्त निगम, एशियाली विकास बैंक, एआईआईबी र कोरियाली एक्जिम बैंकलगायत संस्थाहरूले वित्तीय सहयोग गरेका छन् ।




प्रतिक्रिया