काठमाण्डू– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गरिरहेका छन् ।
रास्वपाको करिब दुई तिहाई नजिकको सरकारले ल्याउन लागेको बजेटप्रति चौतर्फी चासो छ । मध्यम वर्गलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा १८ खर्ब ९० अर्ब तोकेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि १९ खर्बको बजेट ल्याएका थियो । आयोगले यसपटक गत वर्षको भन्दा सीमा घटाएको हो ।
तर, आयोगले तोकेको भन्दा करिब ३ खर्ब बढाएर २२ खर्बभन्दा बढीको बजेट ल्याउने तयारी भएको अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।
कर्मचारीको श्रेणीगत तलब वृद्धि र केही ठूला पूर्वाधारमा लगानी गर्ने सरकारको नीतिका कारण बजेटको आकार अस्वभाविक बढाउन लागिएको हो ।
चालु आर्थिक वर्षको मध्यकालीन खर्च संरचना गर्दा २१ खर्ब २८ अर्बको बजेट ल्याउन सक्ने गरी बाटो खोलिएको छ ।
यो वर्ष अर्थमन्त्रीको आकारमा वृद्धि भएका कारण पनि बजेट बढाउन सक्ने वातावरण तयार भएको छ ।
चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन (जिडीपी) बढेर ६६ खर्ब पुगेको छ । सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी अर्थात ३ खर्ब ५० अर्बमाथि आन्तरिक ऋण लिँदा अर्थतन्त्रले धान्न सक्छ ।
अर्थमन्त्रीले साधारण खर्च घटाउने, पुँजीगत खर्च वृद्धि गर्ने तथा करको दरमा व्यापक हेरफेर गर्ने गरी बजेट वक्तत्व तयार पारेको अर्थ मन्त्रालय श्रोत बताउँछ ।




प्रतिक्रिया