ओलीको अपानी-निर्वाचन निर्वाचनजस्तो भएन, परिणाम पनि स्वाभाविक आएन

ओलीको अपानी-निर्वाचन निर्वाचनजस्तो भएन, परिणाम पनि स्वाभाविक आएन

संविधान संकटमा रहेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको भविष्य संकटमा रहेको दाबी गरेका छन् ।

अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै अध्यक्ष ओलीले लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको नेपालको संविधान संकटमा रहेको दाबी गरेका हुन् ।

उनले नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी रहेको उल्लेख गरेका छन् ।

‘यतिबेला पार्टी र आन्दोलनसामू गम्भीर चुनौती खडा भएको छ । लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको नेपालको संविधान संकटमा छ । लोकतान्त्रिक गणतन्त्रको भविष्य संकटमा छ,’ ओलीले अपानी जारी गर्दै भनेका छन् ।

भूराजनीतिक द्वन्द्वमा नेपालीको भूमिलाई दुरुपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढेको ओलीको ठहर छ । नवगठित सरकारका काम र क्रियाकलापहरूले नेपालीको भौगोलिक अखण्डता नै संकटमा पर्ने हो कि भन्ने गम्भीर आशंका पैदा भएको ओलीको भनाइ छ ।

‘यस्तो अवस्थामा पार्टी आन्दोलनको मात्र होइन, लोकतान्त्रिक भविष्यको सुनिश्चिताका लागि संविधानको रक्षा गर्ने अभिभारासमेत हाम्रासामू छ । विश्व व्यवस्थामा भइरहेको हलचल र त्यसका प्रभाहरूबाट क्षेत्रीय अस्थिरता उत्पन्न नहोस् र नेपालको सार्वभौमसत्ता र अखण्डतामा समस्या नआओस् भन्नका लागि पनि हाम्रो पार्टी सबल र सुदृढ हुनु आवश्यक छ’, ओलीले भनेका छन्, ‘निश्चय नै निर्वाचनको अस्वभाविक परिणामबाट हामी सबै चिन्तित छौं । पार्टीका सामू उत्पन्न चुनौती र संकटलाई सामना गरेर नै हामीले निर्वाचनका समयमा भन्ने गरेको देश पहिला भन्ने नाराको सार्थकतालाई पुष्टि गर्न सफल हुनेछौं ।’

निर्वाचनमा के कस्तो कमी कमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने ओेलीले जनाएका छन् ।

उनले केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने बताएका छन् ।

पार्टीको एउटा हिस्सा निराश र पलायन हुन लागेकाले सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यकरहेको ओलीको भनाइ छ ।

निर्वाचनमा के कस्तो कमी कमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने उनले बताएका छन् ।

ओलीले भनेका छन्, ‘भदौ २३ र २४ को घटना पछि उत्पन्न असहज परिस्थिति, पार्टीभित्र उत्पन्न अन्तरविरोध समेतका कारणले हामीले समयअगावै एघारौं राष्ट्रिय महाधिवेशन आयोजना ग¥यौं । प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनस्र्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टीसमेत निर्वाचनमा जानुपरेको थियो । निर्वाचनको परिणाम हाम्रो पार्टीका पक्षमा रहेन नै । नेपालको प्रमुख लोकतान्त्रिक पार्टीहरूको पक्षमा समेत रहेन । यहाँ कहाँ के कस्तो कमी कमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने कुरा समयक्रममा उजागर समेत हुँदै जाला । तर पनि यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन । यसको परिणाम पनि स्वभाविक रहेन । यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ ।’

ओलीले लोकप्रियतावादको आवरणमा मुलुकलाई अराजकता, स्वेच्छाचारिता र अधिनायकवादतर्फ लैजाने कोशिस भइरहेको पनि दाबी गरे ।

ओलीले कार्यकर्तालाई वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेकोसमेत जानकारी गराए ।

ओलीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनका सन्दर्भमा सुझावसहितको प्रतिवेदन तयार गर्नका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन भएको जानकारी दिए ।