बजेट सकारात्मक छ : निजी क्षेत्र

बजेट सकारात्मक छ : निजी क्षेत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटपछि चितवनका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

उद्योगी व्यवसायीसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएका सरोकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका हुन् ।

उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्त:शुल्क हटाउने लगायत नीति लिएसँगै प्रत्यक्ष रूपमा उद्योगी व्यवसायी लाभान्वित भएका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले बताए । व्यक्तिगत करमा ठूलो राहत मिलेको छ ।

वार्षिक रूपमा ६ लाखबाट बढाएर १० लाख आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याउनु सकारात्मक रहेको उनले प्रतिक्रिया दिए ।

अधिकतम आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा ल्याइँदै गर्दा यहाँका चिकित्सक, इञ्जिनियरलगायत ठूलो आम्दानी गर्ने पेसाकर्मी प्रत्यक्ष लाभान्वित भएका श्रेष्ठको भनाइ छ । उनले अन्त:शुल्क ३६० प्रकारका वस्तुमा हटाउने र उद्योगका लागि कर प्रणाली सरल बनाउने प्रयास स्वागतयोग्य भएको बताए ।

बजेटबाट बजारमा उपभोग र माग बढ्ने सम्भावना देखिएको भन्दै उनले बैंकिङ, अटोमोबाइल र घरजग्गा कारोबारी लाभान्वित हुने महासंघका केन्द्रीय सदस्य श्रेष्ठले धारणा राखे । देवघाटलगायत धार्मिक क्षेत्रको प्रवर्द्धन र भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान गर्दा यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ ।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष त्रिलोचन कँडेलले बजेटबाट उत्पादनको लागत घट्ने, केही वस्तु सस्तो हुने र घरेलु उद्योग प्रतिस्पर्धी बन्ने बताए । २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार दर घट्नु र तयारी वस्तुभन्दा कच्चापदार्थ सस्तो हुनुले यहाँका उद्योग प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

परिसंघका अध्यक्ष कँडेलले भने, ‘बजेटसँगै उद्योग सञ्चालनमा लागत घट्नेछ ।’ उत्पादन तथा निर्यात बढ्नसक्ने र पुँजीबजारमा सुधार आउने उनको भनाइ छ ।

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजन गौतमले हालसम्मकै सबैभन्दा उत्कृष्ट बजेट आएको भन्दै यसले आमनागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । पहुँचका आधारमा आफ्नो क्षेत्र केन्द्रित बजेट वितरण नगरिएको बताउँदै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिएकाले समग्र नेपाली प्रत्यक्ष लाभान्वित हुने प्रतिक्रिया दिए ।

बजेटले कृषि क्षेत्रलाई समयानुकूल प्रोत्साहन दिएको पूर्वअध्यक्ष गौतमको भनाइ छ । उनले २ करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिइएको जनाउँदै यसले कृषिमा व्यवसायीकरण बढ्ने, खाद्य सुरक्षामा सुधार हुने बताए । उनले भने, ‘यो बजेटले ग्रामीण अर्थतन्त्रलाई सक्रिय बनाउँछ ।’

बजेटले सबै क्षेत्रलाई सम्बोधन गर्न सकेको भन्दै अब सरकारले सोहीअनुरूप कार्यान्वयनमा लैजानुपर्नेमा पूर्वअध्यक्ष गौतमले जोड दिए । यसअघिका वर्षमा पनि बजेट सकारात्मक हुँदाहुँदा पनि अस्थिर सरकारका कारण कार्यान्वयन पक्ष फितलो भएको भन्दै उनले अब यो समस्या नआउने विश्वास व्यक्त गरे ।

च्याम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराईले बजेट आशावादी र तुलनात्मक रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले बजेटले मध्यमवर्गलाई सम्बोधन गरेको भन्दै उद्योगी व्यवसायी पनि लाभान्वित भएका बताए । उनले भने, ‘बजेट सकारात्मक छ, कार्यान्वयन पक्ष सवल बन्छ भन्ने हामी विश्वस्त छौँ ।’