दुई वर्षपछि ममता काफ्ले प्रकरणमा नयाँ फरेन्सिक प्रमाण

दुई वर्षपछि ममता काफ्ले प्रकरणमा नयाँ फरेन्सिक प्रमाण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्ष वितिसक्यो । दुई वर्षपछि भने अनुसन्धानले महत्वपूर्ण नयाँ फरेन्सिक प्रमाण फेला पारेको छ।

सन् २०२४ को जुलाई अगस्ट महिनामा आफ्नै घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी तथा अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्राहरू बरामद भएका हुन्। भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताले संकलन गरेका ती प्रमाणहरूको हाल थप वैज्ञानिक परीक्षण भइरहेको छ।

अमेरिकी सञ्चारमाध्यम फक्स फाइभले प्राप्त गरेको अदालतको नयाँ दस्तावेजअनुसार अनुसन्धानकर्ताले आराबाट तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा तथा फोहोरका कणहरू फेला पारेका छन्। ती सामग्रीहरूको प्रारम्भिक परीक्षण ‘स्टेरियो माइक्रोस्कोपी’ प्रविधिबाट गरिएको थियो।

अदालतमा पेश गरिएका विवरणअनुसार आरामा भेटिएका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’का लागि उपयुक्त देखिएका छन्। ती नमूनालाई थप विश्लेषणका लागि फरेन्सिक बायोलोजी शाखामा पठाइएको छ। यद्यपि अन्य १३ वटा कपालका टुक्रा भने डीएनए परीक्षणका लागि पर्याप्त गुणस्तरका नरहेको जनाइएको छ।

बरामद भएका कपाल तथा अन्य नमूनाहरू हाल राज्यको केन्द्रीय प्रयोगशालामा थप डीएनए परीक्षणको प्रक्रियामा रहेका छन्। अनुसन्धानकर्ताहरूले परीक्षणको नतिजाले घटनाको रहस्य खुलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

यस बहुचर्चित घटनामा ममताका श्रीमान् नरेश भट्ट विरुद्ध कानुनी प्रक्रिया जारी छ। उनलाई श्रीमतीको हत्या तथा शव लुकाएको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएको छ। अभियोजन पक्षले नरेशले नै ममताको हत्या गरेको दाबी गरे पनि हालसम्म ममताको शव भने फेला परेको छैन।

ममता बेपत्ता भएदेखि अमेरिकी प्रहरी र फरेन्सिक टोलीले निरन्तर अनुसन्धान गरिरहेका छन्। पछिल्लो पटक फेला परेको नयाँ प्रमाणले अभियोजन पक्षको मुद्दालाई थप बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ। डीएनए परीक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि घटनाबारे थप तथ्य बाहिर आउने विश्वास गरिएको छ।