के राप्रपा फुट्न लागेको हो ?

के राप्रपा फुट्न लागेको हो ?

महामन्त्री राणाको समूह पार्टीबाट अलग हुने तयारीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विवाद उत्कर्षमा पुगेपछि असन्तुष्ट पक्ष पार्टी नै छाड्ने तयारी गरेका छन् ।

निर्वाचनमा अपेक्षाकृत नतिजा नपाएसँगै नेताहरूबिच चर्केको विवाद अन्ततः पार्टी विभाजनतर्फ पुगेको छ ।

असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका महामन्त्री धवलशमशेर राणाको समूहले पार्टीबाट अलग हुने तयारी गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै महामन्त्री राणाले जेठ १८ गते होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा दिने र नयाँ कदमबारे घोषणा गर्ने तयारी गरेको उनी निटक एक नेताले बताए ।

उनका अनुसार राणा समूहबाट करिब ४०–५० जना केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिन तयार छन् । राणा समूहले पार्टी नेतृत्वको कार्यशैलीकै कारण गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टी नराम्ररी पराजित भएको र अधिकांश उम्मेदवारहरूको जमानत जफत भएको आरोप लगााउँदै आएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति लगायतका वैठकमा भएको छलफलको समेत कुनै सुनवाइ नभएको उनीहरूको गुनासो छ ।

राणा समूहले नयाँ पार्टी गठन गर्ने कि अरु पार्टीमा प्रवेश गर्ने विषयमा आन्तरिक गृहकार्यमा छन् । राणा निकट नेताका अनुसार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मिलेर नयाँ पार्टी दर्ता गर्ने विषयमा पनि छलफल चलिरहेको छ । तर अन्तिम निर्णय भइसकेको छैन ।

महामन्त्री राणाले अहिले आफू पार्टी मिलाउने दिशामा रहेको दाबी गरे । काठमाण्डुपाटीसँग कुरा गर्दै राणाले भने, ‘पाटी एकता गर्ने उद्देश्यले विभिन्न बैठकहरू भइरहेको छ । के गर्ने नगर्ने पछि भनौँला।’ उनी यस विषयमा थप कुरा गर्न चाहेनन् ।

राणाले पार्टी छोड्न लागेको जानकारी पाएपछि तीनजना पूर्वअध्यक्षहरूले एकताको आह्वान गरेका छन् ।

पूर्वअध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले राप्रपालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गरी सम्भावित फुट रोक्न आह्वान गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको घडीमा पार्टी छाड्ने वा पलयान हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ।’

आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने राप्रपाले यसअघि निर्णय गरिसकेको छ ।

देशमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि २०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको थियो । त्यसयता यो पार्टी पटक–पटक विभाजन र एकता प्रक्रियाबाट गुज्रेको छ ।