काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा सीमा समस्याका सम्बन्धमा दिएको भनाइप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले आईतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवारपूर्ण र अक्षम्य भनेका छन् ।
प्रधानमन्त्री शाहले सार्वभौम संसद्को रोष्टममा उभिएर ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ’ भनी दिएको अभिव्यक्तिप्रति कांग्रेसले कडा आपत्ति जनाएको छ । कुनै ऐतिहासिक तथ्य र प्रमाण बिना देशको कार्यकारी प्रमुखले यस्तो हल्का टिप्पणी गर्नु राष्ट्रिय हित अनुकूल नभएको कांग्रेसको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको गम्भीर अतिक्रमणको विषय र सिमानाका जनताका बिचमा रहेको सामान्य प्राविधिक पक्षलाई एउटै डालोमा राखेर संसद्मै यस्तो बदनियतपूर्ण स्वीकारोक्ति गर्नु नेपालको स्थापित राष्ट्रिय अडान र सार्वभौमिकतामाथि क्रूर प्रहार हो ।’ प्रधानमन्त्रीको आत्मघाती कदमले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दाबीलाई स्वत: कमजोर बनाउने र कूटनीतिक विश्वसनीयतामा आघात पुर्याउने कांग्रेसले उल्लेख गरेको छ ।
प्रधानमन्त्री शाहले सीमा समस्याको विषयलाई लिएर ‘इङ्ल्यान्ड (बेलायत) सँग कुरा भइरहेको’ भनी संसद्मा गरेको दाबीलाई कांग्रेसले थप आपत्तिजनक र हास्यास्पद भनेको छ । २ पक्षीय सीमा समस्या समाधानका लागि स्थापित कूटनीतिक च्यानल र संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले कुन आधारमा यस्तो कुरा बोलेको भन्दै कांग्रेसले प्रश्न उठाएको छ । यसले अन्तर्राष्ट्रिय कूटनीतिमा नेपालको परिपक्वतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ ।
देशको कार्यकारी प्रमुखले संसद्मा बोलेको प्रत्येक शब्द राज्यको आधिकारिक दृष्टिकोण हुने भएकाले घातक भनाइको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने कांग्रेसको माग छ । ‘यो घातक भनाइ सरकारको आधिकारिक धारणा हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको ? अथवा प्रधानमन्त्री बालेन्द्र शाहको नितान्त व्यक्तिगत प्रलाप हो ? यस विषयमा प्रधानमन्त्री र सरकारले अविलम्ब संसद् र आम नेपाली जनतासमक्ष स्पष्टीकरण दिनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेसले ऐतिहासिक तथ्य, सन्धि र प्रमाणका आधारमा राष्ट्रिय स्वाभिमान र अखण्डताको रक्षा गर्दै छिमेकी राष्ट्रहरूसँगको आत्मीय सम्बन्धको आलोकमा वार्ता र कूटनीतिक प्रयासबाटै सीमा समस्या समाधान गर्न आफू सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।






प्रतिक्रिया