काठमाण्डु- मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु गरेको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत हालसम्म १५९ जना सडक मानवको उद्धार गरिएको छ ।
गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिए ।
सातै प्रदेशमा उद्धार यात्राको टोली पुगेको छ, यही जेठ २१ गतेसम्म उद्धार यात्रा जारी रहन्छ, जेठ २२ गते काठमाडौँको राष्ट्रिय सभागृहमा समापन हुनेछ उनले भने । यस अभियानका क्रममा उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई नजिकको मानवसेवा आश्रममा राखिएको छ । यो झरी वर्षामा कोही पनि नरहून् सडकमा भन्ने आदर्श वाक्यसहित मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरिएको थियो ।
सडक आश्रित असहाय, बेसहारा र अशक्त व्यक्तिहरुको उद्धार तथा संरक्षणका लागि उद्धार अभियान सञ्चालन गरिएको महासचिव केसीले बताए। आनी छोइङ डोल्मा फाउण्डेशनले अभियानका लागि आर्थिक व्यवस्थापन गरेको उनको भनाइ छ । मानवसेवा आश्रमले यसअघि पनि राष्ट्रिय उद्धार यात्रा सञ्चालन गरेको थियो । मानवसेवाभन्दा अर्को महान् धर्म कुनै नभएकाले आफू यस अभियानमा जोडएको आनी छोइङ डोल्माको भनाइ छ ।
मानवसेवा आश्रमले नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ । परोपकारी संस्थाका रुपमा विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानवसेवा आश्रम देशभर रहेका सेवा केन्द्रमा हाल दुई हजार बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरुले आश्रम लिइरहेका छन् ।
हालसम्म दुई हजार ८०० जना भन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइएको आश्रमले जनाएको छ । सडकबाट उद्धार गरिएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिने गरिएको आश्रमका सह कोषाध्यक्ष सुमिरा लामाले बताए ।
मकवानपुरको हेटौँडामा केन्द्रीय कार्यालय रहेको आश्रमका कास्कीसहित २१ जिल्लामा ३० सेवा केन्द्र छन् । सडकबाट उद्धार गरेर आश्रममा ल्याइएकाको पारिवारिक पुनर्मिलन सम्भव नभए आश्रममै राखेर रेखदेख र पालनपोषण गर्ने गरिएको छ । मानवसेवा आश्रमले हजारौँको सङ्ख्यामा सडक आश्रित मानवको उद्धार गरेकामा हालसम्म दुई हजार २०० भन्दा बढी उपचारपछि स्वेच्छिक रुपमा आश्रमबाट बाहिरिएको आश्रमले जनाएको छ ।
छोटो अवधिमै देशका विभिन्न जिल्लामा आश्रममा सेवा केन्द्र विस्तार गरिएको छ । सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम सुरु भएको छ ।
गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरुको सहयोगमा आश्रमका भवन बनिरहेका हुन् ।
आश्रमले सडक आश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । ‘सबैका लागि खाना, नाना र छाना को आदर्श वाक्यसहित नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा मानवसेवा आश्रम जुटेको छ ।




प्रतिक्रिया