बुटवल–काँग्रेस सभापति गगनकुमार थापाले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आग्रह गरेका छन् ।
काँग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार रूपन्देहीमा आयोजित कार्यक्रममा थापाले माफी माग्न बालेनलाई सुझाए ।
उनले संसदमा संख्या छँदैछ, मैले जे बोलें ठीक बोलें भन्ने घमण्ड नपाल्न भने । थापाले प्रधानमन्त्री शाह भगवान, संविधान, काननून र राष्ट्रभन्दा ठूलो नठान्न चेतावनी दिए ।
‘प्रधानमन्त्रीजीलाई यति मात्र भन्छु, संसदमा जानुस् र उभिनुस् । मैले नजानेर गल्ती बोलें भनेर माफी माग्नुस् सकियो । तर माफी माग्दिनँ । मैले जे बोलेँ । मसँग संख्या छ भन्नुभयो भने’, थापाले भने, ‘तपाईं प्रधानमन्त्री हो । भगवान होइन । तपाईंमाथि प्रश्न हुन्छ । तपाईं संविधान र कानूनभन्दा, हाम्रो राष्ट्रभन्दा माथि हुनुहुन्न ।’
प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी आफूहरुको भएको बताए । थापाले प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको उल्लेख गरे ।
सीमा विवादमा नेपालका केही अडानहरू रहेको चर्चा गर्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको तर्क गरे ।
छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विषयलाई उक्त अभिव्यक्तिले क्षिण बनाएको टिप्पणी उनको थियो ।
धेरै नबुझी प्रधानमन्त्रीले त्यसबारे विषय बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए खतरनाक रहेको सभापति थापाले बताए ।
नेपाल–भारतको सीमाबारे प्रधानन्त्रीमा सामान्य सुझबुझ नरहेको आरोप थापाले लगाए ।




प्रतिक्रिया