काठमाण्डु – प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भई राष्ट्रसङ्घीय शान्ति मिसनका माध्यमबाट नेपाली सेनाले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तरराष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको ऐतिहासिक योगदानको स्मरण गरे।
नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु हो भन्दै प्रधान सेनापति सिग्देलले यही उद्देश्यमा अटल रहेर नेपाली सेनाले काम गरिरहेको स्पष्ट गरे । कामप्रतिको प्रतिबद्धता, व्यावसायिकता र इमान्दारिता नेपाली सेनाको पहिचान रहेको उल्लेख गर्दै उनले नेपाली सेनाले विश्वस्तरमा आर्जन गरेको प्रतिष्ठा नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताए ।
नेपाल सदैव विश्व शान्तिप्रति समर्पित रहँदै आएको बताउँदै प्रधान सेनापतिले शान्ति स्थापना कार्यका बहुआयामिक चुनौतीहरूको सामना गर्दै नेपाली शान्ति सैनिक जटिल र परिवर्तनशील परिस्थितिमा पनि अनुशासन, कर्तव्यवोध र पेशाप्रतिको समर्पणभावका पक्षमा अटल रहेकामा गौरव भएको बताए।
सो अवसरमा प्रधान सेनापति सिग्देलले मिसन इलाकामा मृत्यु भएका दुई जना सैनिकका परिवारलाई सम्मानपत्र र शान्ति स्थापनार्थ खटिइ उत्कृष्ट कार्य गर्ने पाँच जना सैनिकलाई कदरपत्र प्रदान गरे ।
उक्त कार्यक्रममा उपरथी अनुपजङ्ग थापाले नेपाली सेनाले विविधताबीच एकता र सहकार्यमा आधारित शक्ति आर्जनका माध्यमबाट विश्वमा नै शान्ति सेनाको ख्याति आर्जन गरेको स्पष्ट गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको जानकारी दिए ।
उनले विश्व शान्ति स्थापनाका पक्षमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिका बारेमा पनि चर्चा गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न नौ वटा मिसनमा नेपाली सेनाका चार हजार १७९ जना शान्ति सैनिक कार्यरत रहेका छन् । विश्व शान्ति स्थापनाका सिलसिलामा हालसम्म विश्वका विभिन्न मिसनमा गरी ४४ जना सैनिकले ज्यान गुमाएका जानकारी पनि सो अवसरमा दिइएको थियो ।
त्यस अवसरमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भूमिकाका बारेमा जानकारी गराइएको थियो । सन् १९८६ मा स्थापना भएको यस केन्द्रले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा जाने सैनिकलाई आवश्यक पूर्वतयारी, यससम्बन्धी आवश्यक अभ्यास तथा तालिम प्रदान गर्ने गर्दछ ।




प्रतिक्रिया