काठमाण्डु – आकर्षक रोजगारीको प्रलोभनमा पारी भारतीय सीमावर्ती क्षेत्रमा श्रम शोषण तथा ठगीमा परेका ४५३ जना नेपाली नागरिकको भारतस्थित नेपाली राजदूतावासको समन्वयमा उद्धार गरिएको छ ।
सामाजिक सञ्जालमार्फत आकर्षक जागिरको प्रलोभन देखाएर सञ्जालबाट ठगीमा फसाइएको थियो ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै दिएको जानकारी अनुसार उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकायहरू तथा गैरसरकारी संस्था ‘किन इन्डिया’सँगको समन्वयमा उद्धार कार्य सम्पन्न गरिएको छ ।
उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा प्रहरीले कारबाही चलाएको थियो । कारबाहीका क्रममा ठगीमा फसेका ११५ जना महिला र ३३८ जना पुरुष गरी जम्मा ४५३ जना नेपाली नागरिकलाई २०८३ जेठ १६ गते उद्धार गरिएको दूतावासले जनाएको छ । उद्धार गरिएका सबै नागरिकहरूलाई नेपाल फिर्ता ल्याई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई हस्तान्तरण गरिसकिएको छ ।
उद्धार गरिएका व्यक्तिहरूलाई नेपाल भित्र्याएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनामा संलग्न रहेको आशंकामा ६ जना महिलासहित १९ जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूमाथि आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली दूतावासले ठूलो उद्धार कार्यलाई सफल बनाउन आवश्यक सहयोग र समन्वय प्रदान गर्ने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, किन इन्डिया तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण निकायहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
नेपाल सरकार र भारतस्थित नेपाली दूतावास भारतमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणप्रति सदैव प्रतिबद्ध रहेको पुनरावृत्ति गरिएको छ । दूतावासले वैदेशिक रोजगारी वा अन्य विभिन्न प्रकारका प्रलोभनका नाममा आउने भ्रमपूर्ण प्रस्तावहरूप्रति सचेत र सजग रहन सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष अनुरोध समेत गरेको छ ।





प्रतिक्रिया