अमेरिका–नेपाल द्विपक्षीय साझेदारी विस्तारमा जोड

अमेरिका–नेपाल द्विपक्षीय साझेदारी विस्तारमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिएका छन् ।

आईतबार सञ्चारकर्मीसँग भएको छलफलमा उनले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यसमार्फत २ देशबिचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

गत वर्ष १ लाख १२ हजार अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै उनले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा चित्रण गरे । नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उनले लगानी, व्यवसाय सञ्चालन र नवप्रवर्तनका लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालका अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गरे ।

उनले नेपालको सार्वभौमसत्ता, आर्थिक वृद्धि तथा साझा समृद्धिलाई सहयोग गर्न नेपाल सरकार र नेपाली जनतासँगको साझेदारी अझ मजबुत बनाउन अमेरिका प्रतिबद्ध रहेको बताए ।

परराष्ट्रमन्त्री शिशिर खनाल तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम पाण्डेसँग भेट गरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तारलगायत विषयमा आफूले छलफल गरेको उनले जानकारी दिए ।

एसेन्ट समिटमा मुख्य वक्ताका रूपमा आफ्ना विचार प्रस्तुत गर्न पाउँदा आफ्ना लागि अवसरमा भएको बताउँदै उनले कार्यक्रममा नेपाली तथा अमेरिकी कम्पनी, पर्वतारोही र नवप्रवर्तकहरूले हिमालय क्षेत्रमा साहसिक पर्यटन र प्रविधिको भविष्यबारे छलफल भएको जानकारी दिए ।

उपविदेशमन्त्री रोजर्सले पाटन दरबार क्षेत्रको भ्रमण गरेर त्यहाँ रहेका सम्पदाको अभिरुचिपूर्वक अवलोकन पनि गरेका थिए ।