काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्परिभाषित गर्दै ‘विकास कूटनीति’ मा आधारित साझेदारी निर्माण गर्नुपर्ने बताएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमा लामिछानेले नेपालमा शान्तिपूर्ण र लोकतान्त्रिक परिवर्तनमार्फत नयाँ राजनीतिक युगको सुरुवात भएको दाबी गर्दै रास्वपालाई नेपालको नयाँ राजनीतिक वास्तविकताका रूपमा प्रस्तुत गरेका छन्। उनले नेपालमा भएको परिवर्तनलाई मतपेटिकाको क्रान्तिको संज्ञा दिएका छन्।
उनले भनेका छन् ‘गैर-दलीय व्यावसायिक र राजनीतिक क्षेत्रमा नयाँ व्यक्तिहरूद्वारा स्थापना गरिएको एउटा राजनीतिक दलले चार वर्षभन्दा कम अवधिमा संसदमा दुई तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गर्नु राजनीतिक इतिहासमा कुनै सामान्य घटना होइन।त्यसैले, नेपालमा के भइरहेको छ र यो देश कुन दिशातिर जाँदैछ भन्नेबारे विश्वव्यापी चासो हुनु पूर्ण रूपमा स्वाभाविक हो। एक हजार माइलभन्दा बढी साझा सिमाना भएको नजिकको छिमेकीका नाताले भारतमा यो चासो हुनु अझ बढी स्वाभाविक छ।’
लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई केवल ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धमा सीमित नराखी आर्थिक विकास, पूर्वाधार, प्रविधि, ऊर्जा र व्यापारिक साझेदारीतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्।
लेखमा उनले नेपाल–भारत सम्बन्धमा रहेका विवादित विषयहरूलाई उग्र राष्ट्रवादबाट होइन, तथ्य र संवादका आधारमा समाधान गर्नुपर्ने बताएका छन्। स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सीमाका लागि पनि रणनीतिक रूपमा महत्वपूर्ण हुने उनको तर्क छ।
लामिछानेले सन् २०२६ लाई नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक अवसरको रूपमा चित्रण गर्दै दुवै देशले साझा भविष्य र आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् । उनले सन् २०१४ मा नरेन्द्र मोदीले नेपालको संसदमा दिएको सम्बोधन स्मरण गर्दै दुई देशबीचको विश्वास र सहकार्यलाई पुनः सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल–भारतबीचको सहकार्यका लागि राखेका प्रमुख ८ प्रस्ताव
– नेपाल–भारत सम्बन्धको आधार विश्वास हुनुपर्ने बताउँदै लामिछानेले सीमा लगायतका विवादलाई अल्झाइराख्नु नहुने बताएका छन् । उनले अतिराष्ट्रवादी भाषणको आलोचना गर्दै ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत विवाद समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
–प्रस्तावित रक्सौल–काठमाण्डु रेलमार्ग, प्रत्यक्ष हवाई सेवा, डिजिटल करिडोर, प्रविधि तथा शिक्षा क्षेत्रमा सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्।
–लामिछानेले नेपाल–भारत हवाई सम्पर्क विस्तारको नयाँ एजेन्डा पनि अघि सारेका छन् । उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा सिधा उडान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
–सूचना प्रविधि क्षेत्रमा भारतसँग सहकार्य बढाउन उनले ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सारेका छन् । डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्ममार्फत दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन सकिने उनको भनाइ छ ।
–भारतका आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन सेन्टर र प्रविधि हब स्थापना गर्न आह्वान गर्दै उनले नेपालको युवा जनशक्ति, स्वच्छ ऊर्जा र डिजिटल पूर्वाधारलाई भारतीय प्रविधि पारिस्थितिकीसँग जोड्नुपर्ने बताएका छन् ।
–भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिँदै नेपाल–भारत सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न तत्काल सहकार्य गर्न सकिने प्रस्ताव समेत गरेका छन् ।यो प्रस्ताव केवल उद्योग स्थापना मात्र नभई नेपाल–भारत सम्बन्धलाई कृषि उत्पादन, आपूर्ति शृंखला र आर्थिक विकाससँग जोड्ने सोचको हिस्सा भएको उनको धारणा छ ।
– नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक करिडोरसँग जोड्नुपर्ने उल्लेख गरेका छन् । उनले खण्डित सीमापार व्यापारको सट्टा एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ । उनले आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी), सहज ट्रान्जिट प्रणाली र व्यापारिक अवरोध हटाउन पनि जोड दिएका छन् ।
–लेखमा लामिछानेले नेपाल–भारत सम्बन्धलाई केवल राजनीति र कूटनीतिमा सीमित नराखी खेलकुदसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।




प्रतिक्रिया