कर वृद्धिको उपायले रोक्ला सुर्तीजन्य पदार्थको अनियन्त्रित प्रयोग ?

कर वृद्धिको उपायले रोक्ला सुर्तीजन्य पदार्थको अनियन्त्रित प्रयोग ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभ्रेपलाञ्चोकमा सार्वजनिकस्थल वरिपरि हुने सुर्तीजन्य पदार्थको बिक्री तथा सेवन रोक्नेबारे १३ स्थानीय तहका प्रतिनिधि सम्मिलित जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सोमबार निर्णय गर्‍यो । प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालकुमार अधिकारीका अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बालगृह वृद्धाश्रम तथा अन्य सार्वजनिक स्थलको १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउन भनिएको छ ।

सुर्तीजन्य पदार्थ निषेधको नियम उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । समितिको बैठकले कानुनी व्यवस्था कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ ले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवनमा कडा प्रतिबन्ध लगाएको छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक सवारीसाधन, विमानस्थल तथा धार्मिक स्थलमा धूम्रपान र सुर्ती सेवन गर्न नपाइने व्यवस्था छ । नियम उल्लंघन गर्नेलाई १०० देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ ।

कानुनले निषेध गरेको र जरिवाना गर्ने व्यवस्था भए पनि सडकका पेटी, सार्वजनिक स्थल र बसपार्कहरूमा चुरोटका ठुटा, गुट्खा तथा खैनीका खोल जताततै छरिएका देखिन्छन् । सार्वजनिक स्थानमा सुर्ती सेवन गर्ने, चुरोट पिउने वा मदिरा सेवन गरेर होहल्ला गर्नेहरूमाथि कारवाही भएको विवरण सार्वजनिक हुँदैन ।

कानुनको कार्यान्वयन कमजोर हुँदा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणबाहिर गएको बताउँछन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी । ऐनअनुसार सुर्तीजन्य पदार्थको प्याकेटको कम्तीमा ७५ प्रतिशत भागमा स्वास्थ्य चेतावनी र घातक तस्वीर राख्नुपर्ने व्यवस्था छ । यस्ता घातक तस्वीर राखेर पनि सूर्तीजन्य पदार्थको अनियन्त्रित प्रयोग रोकिएको छैन ।

ऐनले सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पूर्ण प्रतिबन्ध लगाएको छ । १८ वर्षमुनिका व्यक्ति तथा गर्भवती महिलालाई सुर्र्तीजन्य पदार्थ बिक्री गर्न पाइँदैन । विद्यालय, स्वास्थ्य संस्था, बालगृह, वृद्धाश्रमजस्ता सार्वजनिक स्थलबाट कम्तीमा १०० मिटरभित्र बिक्री वितरण गर्न पनि रोक लगाइएको छ ।

सहप्रवक्ता अधिकारीका अनुसार चोकचोकमा रहेका पान पसल, भट्टी र खुद्रा पसलले यी नियमको पालना गरेका छैनन् । उनले विद्यालय र अस्पतालनजिकै खुलेआम चुरोट, गुट्खा र खैनी बिक्री भइरहेको देखिन्छ । अब यसरी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्नका लागि प्रक्रिया अघि बढाउन छलफल गर्ने उनले बताए ।

सरकारले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन कर बढाउने नीति समेत लिएको छ । अन्य देशहरूको तुलनामा नेपालमा सुर्तीजन्य पदार्थमा करको अनुपात कम रहेको बताइन्छ । नेपालमा सुर्तीजन्य पदार्थ सहज रूपमा उपलब्ध हुने हुँदा यसको उपभोग गर्नेको संख्या बढेको सहप्रवक्ता अधिकारी बताउँछन् । ‘सुर्तीजन्य पदार्थ बेचबिखन र किन्ने उमेर सीमाको हदबन्दी कानुनमा भए पनि कडाइका साथ पालना भएको छैन,’ उनले भने ।

यसअघि सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत कर रहेकोमा सरकारले यस वर्षको बजेटमा सुुर्तीजन्य पदार्थमा १० प्रतिशतले कर वृद्धि गरेको छ । तसर्थ अब सुर्तीजन्य पदार्थमा ५१ प्रतिशतको दरले कर लाग्छ । उनका अनुसार करको दायरा अझै बढाएर उपभोग नै घट्ने गरी पर्याप्त कर लगाउनुपर्छ भन्ने बहस भइरहेको छ ।

दक्षिण एशियाका देशहरूमध्ये बंगलादेशमा ७३ प्रतिशत, श्रीलंकामा ८६ प्रतिशत, माल्दिभ्समा ६५ प्रतिशत, पाकिस्तानमा ६१ प्रतिशत र भारतमा ५८ प्रतिशत सुर्तीजन्य पदार्थमा करभार छ । विश्व स्वास्थ्य संगठनले यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर हुनुपर्ने सिफारिस गर्दै आएको छ ।

नेपालमा सुर्तीजन्य पर्दाथको करमा ७५ प्रतिशत कायम गर्ने हो भने १२ अर्ब थप राजस्व वृद्धि हुने अध्ययनले देखाएको छ । सो दरमा कर वृद्धिले सुर्तीजन्य पर्दाथको प्रयोग ५–११ प्रतिशतसम्म घट्ने नेपाल विकास अनसन्धान प्रतिष्ठान (एनडीआरआई) को अध्ययनले देखाएको छ । चुरोट तथा अन्य सुर्तीजन्य पदार्थमा कर बढाउँदा सरकारलाई थप राजस्व संकलन हुनुका साथै जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार सन् २०२१ मा नेपाली बजारमा अवैध रूपमा भित्रिएका चुरोटका प्याकेट १ प्रतिशतभन्दा कम थिए । चुरोट, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ खरिद तथा त्यसबाट हुने रोगको उपचारमा नेपालमा वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढी खर्च व्यहोर्नुपरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष धूम्रपानबाट हुन्छ भने करिब १३ लाख मानिसको मृत्यु अरुले गरेको धूम्रपानको धुवाँ सासमार्फत लिँदा हुने गरेको छ ।

यदि सुर्तीजन्य पदार्थमा कर बढाउने हो भने यसको प्रयोग दर घट्दै जाने र नयाँ प्रयोगकर्ता बन्ने संख्या कम हुने बताउँछन् सहप्रवक्ता अधिकारी । उनका अनुसार कर वृद्धिबाट संकलित रकम स्वास्थ्य उपचार तथा जनचेतनामूलक कार्यक्रममा खर्च गर्न सकिने भएकाले यसले सार्वजनिक स्वास्थ्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने देखिएको छ ।

नेपालमा हाल सुर्तीजन्य पदार्थमा लाग्ने कर ज्यादै न्यून रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप बढाउनुपर्ने उनले बताए । उनले भने,

‘सुर्तीजन्य पदार्थमा उच्च कर लगाउने नीतिलाई प्रभावकारी उपायका रूपमा हेरिएको छ । यसबाट प्रयोगकर्ताको संख्या घटाउनुका साथै धुवाँका कारण अरू व्यक्तिमा पर्ने असर पनि कम गर्न सकिन्छ । कर बढाउँदा उद्योग र रोजगारीमा असर पर्ने तर्क पनि उठ्ने गरेको छ । तर त्यसका लागि वैकल्पिक रोजगारी र उद्योग प्रवर्द्धनका उपाय अघि सार्न सकिन्छ ।  तत्काल पूर्ण प्रतिबन्ध सम्भव नभए पनि चरणबद्ध रूपमा कर वृद्धि गर्दै सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न सकिन्छ ।’

अवैध कारोबार बढ्ने तर्क पनि बहाना मात्र भएको उनी बताउँछन् । उनले भने, ‘यसको प्रभावकारी अनुगमन र कडाइमार्फत अवैध कारोबार नियन्त्रण गर्न सकिन्छ ।’ सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि राज्यले छिटो र कडा कदम चाल्नुपर्ने कुरामा उनले जोड दिए ।

नेपालमा किशोरकिशोरीमा सुर्ती सेवनको तथ्यांक हेर्ने हो भने अवस्था चिन्ताजनक देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रकाशित २०२२ को अध्ययनअनुसार प्रत्येक ३ मध्ये १ विद्यार्थीले जीवनमा कुनै न कुनै समयमा सुर्ती सेवन गरेका छन् भने ५ मध्ये १ विद्यार्थी हाल पनि सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् ।

विद्यालयका ३७८ विद्यार्थीमा गरिएको अध्ययनले पुरुष विद्यार्थीमा धूम्रपानको दर महिला विद्यार्थीभन्दा ५ गुणाभन्दा बढी रहेको देखाएको छ । अध्ययनअनुसार १६.७ प्रतिशत विद्यार्थी हाल धूम्रपान गरिरहेका छन् भने ६.१ प्रतिशतले अन्य सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् । धेरैले १२–१५ वर्ष उमेरमै धूम्रपान सुरु गरेको पाइएको छ भने २० प्रतिशतले १० वर्षभन्दा कम उमेरमै चुरोट सेवन सुरु गरेका थिए ।

अनुसन्धानअनुसार अधिकांश विद्यार्थीलाई धूम्रपान स्वास्थ्यका लागि हानिकारक हुने जानकारी भए पनि यसको प्रयोग दर उच्च रहनु चिन्ताको विषय हो । आयमा वृद्धि, चुरोटको सहज पहुँच, आक्रामक बजार विस्तार तथा कमजोर नियन्त्रणका कारण भविष्यमा प्रयोगकर्ता झन् बढ्ने जोखिम रहेको अध्ययनले औंल्याएको छ ।

विशेषगरी किशोरी युवतीमा धूम्रपान दर बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ । किशोरकिशोरीमा बढ्दो प्रयोगले स्वास्थ्यमा फोक्सोको क्यान्सर, मुटुरोग, श्वासप्रश्वास सम्बन्धी समस्या लगायतका गम्भीर रोगको प्रमुख कारणमध्ये सुर्तीजन्य पदार्थ पनि एक हो । बीएण्डबी मेडिकल इन्स्टिच्युटका सहायक प्राध्यापक सरस्वती श्रेष्ठका अनुसार सुर्र्तीजन्य पदार्थ नियन्त्रणका लागि कानुनको कडाइका साथ कार्यान्वयन, उच्च कर, विज्ञापन प्रतिबन्ध तथा धूम्रपान छोड्न सहयोग गर्ने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नु आवश्यक छ ।