काठमाण्डु – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई संसद्मा उपस्थित भएर प्रतिपक्षका प्रश्नहरूको सामना गर्न जोडदार अपिल गरेकी छन् ।
प्रधानमन्त्री बालेनको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण लगातार ३ दिनदेखि संसद् अवरुद्ध भइरहेको सन्दर्भमा सांसद तामाङले सामाजिक सञ्जालमार्फत संसद्मा आउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।
सांसद तामाङले राष्ट्रियताको विषयमा सबै दल एक हुनुपर्ने उल्लेख गरिन् । ‘विपक्ष सधैँ सही हुन्छ भन्ने पनि हुँदैन र सधैँ गलत हुन्छ भन्ने पनि हुँदैन तर जब राष्ट्रियताको कुरा आउँछ, हामीले सत्ता पक्ष र विपक्ष भनेर विभेद गर्नु कदापि हुँदैन, हामी एकजुट हुनुपर्दछ,’ उनले लेखेकी छन् ।
संसद् अवरोधप्रति तिखो टिप्पणी गर्दै तामाङले संसद्को काम हाजिर गर्ने र भत्ता पचाउने मात्र हुन नहुने बताइन् । सभामुखले कार्यविधिअनुसार बजेटमाथि महत्त्वपूर्ण छलफल गर्न खोजे पनि निरन्तरको विरोधले सदन अवरुद्ध हुँदा देशलाई ठूलो घाटा भइरहेको उनको भनाइ छ ।
‘जब देश विकासको मेरुदण्ड बजेटमा हामी बहस गर्न असमर्थ छौँ भने देशले कसरी पाउँछ निकास र विकास ?’ तामाङले प्रश्न गरिन् ।
रास्वपा सांसद तामाङले संसद्मा प्रतिपक्षी र नयाँ भनिएका दलहरूमा समेत अहंकार बढेको संकेत गर्दै ‘मेरो गोरुको बाह्रै टक्का’को प्रवृत्ति हाबी भएको गुनासो गरिन् । उनले जेनजी आन्दोलनका सहिदहरूलाई स्मरण गर्दै भनिन्, ‘७३ जना सहिद जेनजी भाइबहिनीको आत्माले के सोच्लान् ?’
सदन सञ्चालन गर्न नपाउँदा हरेक दिन सभामुखको अनुहार न्याउरो देखिँदै गएको भन्दै उनले सभामुखले चाहेर पनि कार्यभार सम्हाल्न नसकेकोतर्फ ध्यानाकर्षण गराइन् ।
प्रधानमन्त्री शाहलाई देशको अभिभावकको संज्ञा दिँदै उनले भनिन्, ‘तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंको सन्तान हौँ । अब तपाईंले नै हामीलाई वास्ता नगर्ने हो भने हामी टुहुरा हुनेछौँ । त्यसैले कृपया सदनमा आइदिनु भई प्रतिपक्ष दलका सवाल–जवाफ दिनुहोला र हामी सत्तापक्षको मन राखिदिनुहोला ।’




प्रतिक्रिया