सहकारी ठगीको करिब ५ अर्ब बचत फिर्ता गर्न माग गर्दै ६ हजार बढीको उजुरी

सहकारी ठगीको करिब ५ अर्ब बचत फिर्ता गर्न माग गर्दै ६ हजार बढीको उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका सहकारी विभागमा ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि ६ हजार बढी बचतकर्ताले माग गरेका छन् ।

कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा बचत रकम फिर्ता गरिदिनका लागि अत्यधिक माग आउन थालेको छ ।

कामपा सहकारी विकागका प्रमुख धु्रवकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको छ ।

प्रमुख काफ्लेका अनुसार यसरी माग दाबी गर्ने बचतकर्ताहरूमा १ लाखदेखि ५ लाख रुपैयाँसम्मको रकम रहेका बढी छन् । रकम फिर्ताका लागि ६ हजार ३०० बचतकर्ताले उजुरी दिएको प्रमुख काफ्लेले जानकारी दिए ।

निवेदनका आधारमा उनले भने, ‘यसरी उजुरी दिनेमा दैनिक ५०० देखि १ हजारसम्म गर्ने अर्थात साना रकम जम्मा गर्ने बचतकर्ताहरूको संख्या बढी रहेको छ ।’

कामपाका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको संख्या ७८ प्रतिशत रहेको छ । उजुरीकै आधारमा कामपाले गत सोमबार र मङ्गलबार गरी बुद्ध दर्शन सेभङि एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ ।

कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन १ लाख ५० हजारसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरूलाई बचत रकम फिर्ता गरेको छ । सहकारीले आगामी १ महिनाभित्र ५ लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ ।

कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरूलाई ताकेता गर्ने र बचतकर्ताको बचत रकम फिर्ता गर्दै कार्य अघि बढाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको कामपा सहकारी विभागको भनाइ छ । विभागका प्रमुख  काफ्लेले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्छन्, ‘माग दाबी सहितको निवेदन लिन्छौँ । संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बिच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौँ ।’

वडास्तरको मेलमिलापबाट नटुंगिएमा विभागले मिलाउन प्रयास गर्छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका सिफारिस गरिन्छ ।