महामन्त्री राणाको बहिर्गमनले राप्रपामा तरङ्ग, निर्णय फिर्ता लिन अध्यक्ष लिङ्देनको आग्रह

महामन्त्री राणाको बहिर्गमनले राप्रपामा तरङ्ग, निर्णय फिर्ता लिन अध्यक्ष लिङ्देनको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवल शमशेर राणाले अप्रत्याशित रूपमा पार्टीबाट बहिर्गमनको निर्णय लिएपछि पार्टीभित्र ठूलो तरङ्ग पैदा भएको छ ।

राप्रपा पूर्ण रूपमा महाधिवेशनको तयारीमा होमिएका बेला आएको समाचारले राजनीतिक वृत्तमा आश्चर्य पैदा गरिदिएको हो ।

यसै घटनाक्रमलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार अपिल जारी गर्दै महामन्त्री राणालाई आफ्नो निर्णय फिर्ता लिन र पार्टी एकताबद्ध राख्न सार्वजनिक आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष लिङ्देनले पार्टी पूर्ण रूपमा महाधिवेशनतर्फ उन्मुख भइसकेको संवेदनशील अवस्थामा महामन्त्री राणाको बहिर्गमनको समाचारले आफू आश्चर्यचकित भएको बताए । उनले पार्टीका पूर्वअध्यक्षहरूको आह्वान, आम नेता, कार्यकर्ता र शुभेच्छुकहरूको भावनाको सम्मान गर्दै आफ्नो निर्णय फिर्ता लिन डा. राणासँग आग्रह गरे ।

अध्यक्ष लिङ्देनले राणालाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सामेल हुन समेत आह्वान गरेका छन् ।

अध्यक्ष लिङ्देनले देश तथा विदेश (प्रवास) मा रहेका पार्टीका विभिन्न तहका नेता एवं कार्यकर्ताहरूलाई पार्टी एकता र शुभेच्छुकहरूको भावना विपरीतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन अपिल गरेका छन् । उनले कसैलाई पनि विचलित नभई एकताबद्ध भएर आसन्न स्थानीय तह र जिल्ला अधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।

राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी जेठ २८ र २९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरिसकेको छ । केन्द्रीय समितिको बैठकले महाधिवेशनको अन्तिम कार्यतालिका टुङ्गो लगाउने तयारी थियो ।

महाधिवेशनको कार्यतालिका तयार पारेर आगामी बैठकमा प्रस्ताव गर्ने जिम्मेवारी पाएको समितिमा स्वयं महामन्त्री धवलशमशेर राणा समेत सदस्य रहेका थिए । महाधिवेशनको कार्यतालिका तय गर्ने मुख्य जिम्मेवारीमै रहेका बेला महामन्त्री राणाले चालेको अप्रत्याशित कदम र अध्यक्ष लिङ्देनको सार्वजनिक अपिलले राप्रपाभित्रको आन्तरिक खटपटलाई सतहमा ल्याइदिएको छ ।