काठमाण्डु – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
लामिछानेले भारत भ्रमणको तेस्रो दिन भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न लागेका हुन् ।
प्रधानमन्त्री मोदीसँगको भेटवार्तालगत्तै सभापति लामिछाने उत्तर प्रदेशको अयोध्या प्रस्थान गर्ने र त्यहाँस्थित ऐतिहासिक राममन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ।
मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीन, भारतका विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित साहसँग भेटवार्ता गरेका थिए । उक्त भेटघाटहरूमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा छलफल भएको थियो ।
भ्रमणका क्रममा रास्वपा टोलीले भाजपा मुख्यालयमा रहेको अत्याधुनिक मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो।
राजनीतिक संवादपछि आयोजित दिवाभोजमा दिल्लीकी भाजपा नेता रेखा गुप्ता लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। भाजपाले यो अन्तर्क्रियाले दुई दलबीचको सम्बन्धलाई थप गहिरो र लोकतान्त्रिक संवादलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
पाँच दिने भ्रमणका लागि लामिछानेसहित उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) सोमबार भारत गएका हुन् ।
लामिछानेसहितको टोली जेठ २२ गते स्वदेश फर्कनेछन् ।




प्रतिक्रिया