काठमाण्डु – एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रन बनाउँदै अल आउट भयो ।
कतारले दिएको ७७ रनको विजय लक्ष्य पछाएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालको जितमा ओपनर ब्याटर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३० बलमा ४ चौका प्रहार गरिन्। दोस्रो विकेटका लागि पूजा महतो र बिन्दु रावलले ४१ रनको साझेदारी गरे। पूजा महतो २८ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ५ बलमा १ चौकासहित ६ रनमा अविजित रहिन्।
कतारका लागि बलिङतर्फ साहिरिननवाब खान र खादिजा अहमदले १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको कतारको लागि ओपनर ब्याटर गीतरुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन् उनले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरिन्।
नेपालको लागि बलिङतर्फ रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। कविता कुँवर, रिया शर्मा र पूजा महतोले १–१ विकेट लिए।
नेपालले दोस्रो खेल भुटानसँग खेल्नेछ। प्रिमियर कपको सेमीफाइनलिस्ट एसिया कपको लागि छनोट हुनेछन्।




प्रतिक्रिया