ओलीले भने-आगो लगाएर पुगेन सम्पत्ति विवरण ?

ओलीले भने-आगो लगाएर पुगेन सम्पत्ति विवरण ?

शिर काटेर टेबलमा राख्यो भने पार्टी बलियो हुन्छ भन्ने भ्रममा नपर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् ।

एमाले केन्द्रीय संगठन विभागले बुधबार आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालामा बोल्दै अध्यक्ष ओलीले कार्की आयोग नक्कली भएको आरोप लगाए ।

‘भदौ २३ गते नै ककसलाई जेल हाल्नुपर्छ भन्दै हिँडेका व्यक्ति गौरीबहादुर कार्की नेतृत्वको आयोलाई हामीले मान्यता नै दिएको छैन,’ उनले भने, ‘जसले पहिल्यै आफ्नो योजना सार्वजनिक गरेको छ, त्यसकै नेतृत्वमा आयोग बनाएर न्याय निरपण हुन्छ ?’

ओलीले आफ्नो सम्पत्ति खरानी बनाएको तर सम्पत्ति विवरण माग गरेको बताउँदै सरकारलाई आफ्नो सम्पत्ति खरानी उठाएर लान चुनौती दिए ।

‘कसैको अकुत सम्पत्ति देख्यो भने छानबिन गरोस् । आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण ? सम्पत्ति विवरण खरानी भर्दिने मैले ?’ रिसाएर ओलीले भने, ‘आगो लगाएर पुगेन सम्पत्ति विवरण ? खरानी छ उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’

उनले तत्कालीन प्रधामनन्त्री सुशीला कार्कीले मान्छे तोकेर कारबाही गर्नुपर्छ भनेको र सो काम फत्ते गर्न कार्कीकै नेतृत्वमा आयोग बनाइएको दाबी गरे ।

‘बयान दिएन तर आयोगले बयान दियो भनेर छाप्यो । आयोगले प्रश्नपत्र पठाएको थियो । बुझ्दिनँ दिन्नँ भनेर मैले पठाइदिएको थिएँ । किन बयान दिन्न त्यो कारण पनि बताइएको थिएँ । मैले बयान दिइँन,’ उनले भने । ओलीले राष्ट्रपति वर्तमान सरकारको ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाए ।

संविधानको संरक्षकले संवैधानिक दायरा सम्झाउनुको साटो जे–जे भन्यो त्यसैमा हस्ताक्षर गरिरहेको आरोप ओलीले लगाए ।

‘सम्माननीय राष्ट्रपतिले बडो जुक्तिले लोकतन्त्र जोगाएँ भन्नुभयो । तर, उहाँ भदौ २३ र २४ गते यता हरेकपटक संविधानविरुद्धका काममा रबर स्ट्याम्प बनिरहनु भएको छ,’ ओलीले भने, ‘अहिले लोकतन्त्र समाप्त पार्न बडो जुक्ति लागिरहेको छ । उहाँ पनि फस्दै हुनुहुन्छ ।’

ओलीले आफूलाई हटाउँदैमा एमाले बलियो नहुने पनि बताए । पार्टीभित्रैबाट नेतृत्व परिवर्तनको रटान लगाइएको भन्दै उनले शीर काटेर टेबलमा राख्दैमा पार्टी बलियो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे ।

‘शिर काटेर टेबलमा राख्यो भने पार्टी बलियो हुन्छ भनेर भ्रममा परेका छन्’, ओलीले भने, ‘यो बेला चुनौतीको समीक्षा गर्ने कि आत्मभत्र्सना गर्ने ?

उनले भने, ‘कि त भन्नु पर्‍यो हाम्रो घर जलाएको ठीकै हो ।’ ओलीले देश जल्दा आफूहरूले केही गर्न नसकेको भनेर हतोत्साही हुन नपर्ने पनि बताए । ‘सिंहदरबार जलाउन किन रोक्न सकेन भनिन्छ’, ओलीले भने, ‘सेनाले सकेन त हामीले कसरी सकौँ ?