पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा झापा – नेपाली प्रहरीले पाँच किलो गाँजा र १४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले झापा विर्तामोड नगरपालिका ४ स्थित एक घरबाट पाँच किलो ९० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी सुमन बानियाँले बताए ।

सोही क्रममा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का ३० वर्षीय विनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका ४ का करिब २० वर्षीय सागर राईलाई पक्राउ गरेको छ । यसैबीच, झापा गाउँपालिका ४ टाघनडुब्बा क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

 भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिमाथि शङ्का लागेपछि मङ्गलबार प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा दमक नगरपालिका १० निवासी ३२ वर्षीय सुरज रायको साथबाट छ ग्राम एक मिलीग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका ३ का ४२ वर्षीय बाबुराम दर्जीको साथबाट पनि प्रहरीले आठ ग्राम ७० मिलीग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।