गण्डकी – गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथि प्रदेश सभामा बुधबारदेखि छलफल सुरु भएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको हो ।
प्रदेशसभा सदस्य जीतप्रकाश आले मगरले विनीयोजन विधेयकका सिद्धान्त र प्राथमिकताअनुसार नीति तथा कार्यक्रम र सोही आधारमा बजेट ल्याउनुपर्ने बताए । संघीय प्रणालीलाई थप सुदृढ गर्नेगरी बजेट तथा कार्यक्रमलाई केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । प्रदेशसभा सदस्य निर्मला थापाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम आएको बताए ।
नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । प्रदेशसभा सदस्य कुसुम बुढा पुनले करको दर नभई दायरा बढाउनुपर्ने बताए । उनले प्रदेश सरकारलाई आत्मनिर्भर बनाउने गरी नीति, कार्यक्रम र बजेट तुर्जमा गर्नुपर्ने बताए । उत्पादन र रोजगारी वृद्धिलाई जोड दिनुपर्ने उनको भनाइ छ ।
प्रदेशसभा सदस्य विन्दु पौडेलले केही नयाँ कार्यक्रम घोषणा गरिए पनि अधिकांश कार्यक्रम परम्परागत र सतही भएको बताए । उनले नागरिकको माग र आकांक्षालाई पूरा गर्ने गरी बजेट तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले पर्यटन क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममा नयाँ सोच र योजना समावेश भएको बताए ।
उनले कतिपय कार्यक्रम तथा योजना कार्यान्वयनमा नीतिगत अस्पष्टताका कारण समस्या भइरहेको भन्दै पहिले त्यसलाई हल गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य सुनिता थापा, बेदबहादुर गुरुङलगायतले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका थिए । त्यसअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए ।
नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’को दीर्घकालीन सोचलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्दै ल्याइएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।




प्रतिक्रिया