देशभर तापक्रममा वृद्धि, काठमाण्डुमा पनि बढ्यो

देशभर तापक्रममा वृद्धि, काठमाण्डुमा पनि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २ दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम बुधबार बढेर ४१ डिग्रीसम्म पुगेको छ ।

विभागका मौसमविद् सरोज पुडासैनीले बिस्तारै तापक्रम वृद्धिकै चरणमा रहेको जानकारी दिँदै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको जानकारी दिए ।

विभागमा अहिले राति प्राप्त तापक्रम मापनअनुसार बुधबार सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ ।

नेपालगञ्जमा ३९.५ र जनकपुरमा ३८.२ डिग्री तापक्रम मापन भएको छ । सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री तापक्रम मापन भएको छ ।

काठमाण्डुमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम बुधबार बढेर ३०.६ डिग्री मापन भएको छ ।

हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

बिहीबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले बुधबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अभिलेखअनुसार बुधबार कतैकतै वर्षा भएको र यो क्रम भने जारी नै रहने छ । बुधबार काठमाण्डुसहित केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।