नेपाली क्रिकेट टोलीले जर्सीसँग दुई एकदिवसीय खेल्ने

नेपाली क्रिकेट टोलीले जर्सीसँग दुई एकदिवसीय खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृंखलाअघि जर्सीसँग दुईवटा एकदिवसीय खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाल र जर्सीबीच जुलाई १३ र १५ अर्थात् असार २९ र ३१मा दुई एकदिवसीय खेल हुनेछ । खेलअघि नेपाली टोलीले जर्सीको एनसिसी ग्रानभिलमा विशेष तयारी क्याम्पसमेत सञ्चालन गर्ने क्यानले जनाएको छ ।

नेपाली क्रिकेट टोली १८ वर्षपछि जर्सी जान लागेको हो । यसअघि सन् २००८ मा नेपालले ब्रिटिश टापु जर्सीमा विश्व क्रिकेट लिग डिभिजन–५ खेलेको थियो, जहाँ सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि नेपालको यात्रा टुङ्गिएको थियो ।

सोही प्रतियोगिताको समूह चरणमा मोजाम्बिकविरुद्ध नेपालका बलर महबुब आलमले एक्लै १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए । आइसिसीको आधिकारिक प्रतियोगितामा कुनै पनि खेलाडीले १० विकेट लिएको त्यो पहिलो ऐतिहासिक अवसर थियो ।

जर्सीको तयारीपछि नेपाली टोली लिग–२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेदरल्यान्ड्समा नेपाल, घरेलु टोली र नामिबियाबीच त्रिकोणात्मक शृंखला हुनेछ , यो श्रृंखला नेपालका लागि लिग–२ को दोस्रो अन्तिम शृंखला हो ।

नेपालले जुलाई २१ मा नामिबियाविरुद्ध खेल्दै शृंखलाको सुरुवात गर्नेछ । त्यसपछि जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने लिग(२ को तालिका छ ।