प्रचण्डका छोरी–ज्वाईं सम्पत्ति शुद्धीकरणको छानबिन ‘राडार’ मा, पक्राउ गर्ने तयारी

प्रचण्डका छोरी–ज्वाईं सम्पत्ति शुद्धीकरणको छानबिन ‘राडार’ मा, पक्राउ गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहालमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दाहाल र उनका पति जीवन आचार्यमाथि छानबिन अन्तिम चरणमा पुर्‍याएको हो ।गंगा प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवको भूमिकामा थिइन् ।

गत भदौको जेनजी आन्दोलनमा गंगाको निवासमा सुन र नगद भेटिएको थियो । केही रकम र सुन लुटिएको थियो भने केही जलेको थियो । यद्यपि कति रकम लुटियो र कति जल्यो भन्नेबारे गंगा स्वयं र छानबिन गर्ने निकायले केही बताएका छैनन् ।

सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गंगाको जलेको घरबाट संकलन गरिएको खरानी जाँचका लागि प्रहरी प्रयोग शाला पठाएको थियो ।

खरानी परीक्षण गर्दा नेपाली मुद्राको अवशेष पुष्टि भएको थियो । दाहालसहित काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, काँग्रेस नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काको जलेको निवासको खरानी परीक्षण गर्दा रकम जलेको पुष्टि भएको थियो ।

जेनजी आन्दोलनकारीले नेताहरुका घरमा आगो लगाएपछि पैसा उडाएको र जलेको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो ।

विभाग र प्रहरीले चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई रिपोर्टबारे ‘ब्रिफिङ’ गरेका थिए ।

तत्कालीन अवस्थामा विभागलाई प्रधानमन्त्री कार्यालय मातहतबाट अर्थ मन्त्रालयअन्तर्गत फर्काइएको थियो । बालेन्द्र शाह प्रधानमन्त्री भएपछि फेरि प्रधानमन्त्री कार्लायय फर्काइएको छ ।

रिपोर्टबारे जानकारी लिएपछि कार्कीले सरकारको पहिलो प्राथमिकता तोकिएकै मितिमा निर्वाचन गर्नुभएकाले दोषी देखिएकाहरुमाथि कारबाही अघि बढाउँदा निर्वाचनको वातावरण बिथोलिने भएकाले ताजा जनादेशपछि बन्ने सरकारले छानबिन अघि बढाउने गरी यथास्थितिमा राख्न निर्देशन दिएकी थिइन् ।

देशबासीका नाममा सम्बोधनका क्रममा कार्कीले नेताहरुका घर आगजनी हुँदा भेटिएका अस्वभाविक नगद सम्बन्धमा सरकारका सम्वद्ध निकायले छानबिन गरिरहेको बताएकी थिइन् ।

१३ चैतमा बालेन्द्र प्रधानमन्त्री नियुक्त भएपछि रोकिएको छानबिनले तीव्रता पाएको हो । आफू सम्पत्ति शुद्धीकरणको छानबिनको ‘राडार’ मा परेको सूचना पाएपछि गंगा सार्वजनिक रुपमा देखिएकी छैनन् ।

केही दिनयता उनको मोबाइलको स्वीच अफ छ । ‘छानबिन अन्तिम चरणमा पुगेको छ’, विभाग श्रोतले भन्यो, ‘पक्राउ गरेर थप छानबिन र मुद्धा चलाउनुपर्ने देखिन्छ ।’

गंगाका पति आचार्य काँग्रेस नेता उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री र एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

हाल उनी कोशी प्रदेशसभा सदस्य छन् । गंगा र उनीमाथि प्रचण्ड शासन सत्तामा हुँदा कर्मचारी र सुरक्षा निकायको सरुवा, बढुवा तथा ठूला ठेक्कामा चलेखेल गरेको आरोप लाग्दै आएको छ ।